लेबनान । इजरायली सेनाले लेबनानको उत्तरी सहर त्रिपोलीलाई लक्षित गरी गरेको आक्रमणमा हमासका सैन्य कमान्डर वसिम अताल्लाह अली मारिएको दाबी गरेको छ। इजरायली जलसेनाले सञ्चालन गरेको विशेष कारबाहीमा अलीको मृत्यु भएको इजरायलले टेलिग्राममार्फत जारी गरेको आधिकारिक विज्ञप्तिमा उल्लेख गरेको छ।
इजरायलले अलीमाथि हमासका लडाकुहरूलाई तालिम दिने तथा सैन्य रणनीति तयार गर्ने काममा संलग्न रहेको गम्भीर आरोप लगाएको छ। तर आफ्नो कमान्डर मारिएको विषयमा हमासले अहिलेसम्म कुनै आधिकारिक प्रतिक्रिया वा पुष्टि गरेको छैन।
पछिल्लो समय इजरायलले लेबनानमा आफ्नो सैन्य कारबाहीको दायरा विस्तार गर्दै गएको छ। बिहीबार मात्रै लेबनानका विभिन्न स्थानमा भएका इजरायली हवाई तथा स्थलगत आक्रमणमा कम्तीमा १० जनाको मृत्यु भएको जनाइएको छ।
यसैबीच, बेरुतको दक्षिणी उपनगरहरूमा इजरायलले अनिवार्य निष्कासनको आदेश दिएपछि त्यहाँका स्थानीय बासिन्दा ज्यान जोगाउन सुरक्षित स्थानको खोजीमा उत्तरी सहर त्रिपोलीतर्फ सर्न थालेका छन्।


