लमजुङ: चालु आर्थिक वर्षमा लमजुङमा चार सय मेट्रिकटन सुन्तला उत्पादन भएको छ। कृषि ज्ञान केन्द्रका अनुसार एक सय ३० हेक्टर क्षेत्रफलमा लगाइएको सुन्तलाखेतीबाट यो उत्पादन भएको हो।
पछिल्ला वर्षहरूमा सुन्तला उत्पादनमा गिरावट आएको कृषि प्रसार अधिकृत सरोज थापाले जानकारी दिनुभयो। किसानको बेवास्ता, सुन्तलाको बोटमा रोग र किरा लाग्ने समस्याका कारण उत्पादनमा वृद्धि हुन नसकेको उहाँको भनाइ छ। यद्यपि, गत वर्ष र यस वर्षको उत्पादन भने तुलनात्मक रूपमा समान रहेको छ।
गाउँसहर, स्याउत, चिती, भोर्लेटार, सिम्पानी, कुन्छा, गहते, दुराडाँडा, राइनास, भोजे, उदीपुर, र धिमिरेलगायतका स्थानहरूमा सुन्तला उत्पादन हुँदै आएको छ। तर, ती क्षेत्रमा उत्पादन बर्सेनि घट्दै गएको थापाले बताउनुभयो।
गत आर्थिक वर्षमा एक सय ३० हेक्टर क्षेत्रफलमा सुन्तलाखेती गरेर चार सय मेट्रिकटन उत्पादन भएको थियो।
आव २०७९/८० मा एक सय २५ हेक्टर क्षेत्रफलबाट पाँच सय २५ मेट्रिकटन उत्पादन भएको थियो।
आव २०७८/७९ मा एक सय ८० हेक्टर क्षेत्रफलबाट एक हजार दुई सय ४० मेट्रिकटन सुन्तला उत्पादन भएको थियो।
आव २०७७/७८ मा दुई सय १३ हेक्टर क्षेत्रफलमा एक हजार चार सय २४ मेट्रिकटन सुन्तला उत्पादन भएको थियो।
कृषि ज्ञान केन्द्रका अनुसार लमजुङ सुन्तलाको लागि उपयुक्त क्षेत्र भए पनि विभिन्न रोग र किराको सङ्क्रमण, प्राविधिक ज्ञानको अभाव, र किसानको बेवास्ताका कारण उत्पादनमा कमी आएको हो।
सुन्तलाको बोट र फलमा कत्ले, पतेरो, सिट्रेस डिक्लाइन, र ग्रिनिङ भाइरसजस्ता समस्याहरू देखिएको छ। यी समस्या एक बोटबाट अर्को बोटमा सर्ने भएकाले सुन्तला बगैँचा मासिँदै गएको थापाले बताउनुभयो।
जिल्लामा उत्पादित सुन्तला काठमाडौँ, पोखरा, र चितवनजस्ता ठूला सहरहरूमा खपत हुने गरेको छ। विगतमा लमजुङमा एक हजार दुई सय हेक्टर क्षेत्रफलमा सुन्तलाखेती गरिँदै आए पनि अहिले एक सय ३० हेक्टरमा मात्र सीमित भएको छ। उत्पादन घटेका कारण बाहिरी जिल्लाका सुन्तलाले स्थानीय बजार ओगट्न थालेको व्यापारीहरूले जनाएका छन्।
सुन्तला उत्पादनको दीगो व्यवस्थापनका लागि किसानमा प्राविधिक ज्ञानको अभिवृद्धि, रोग रोकथाम, र सिँचाइको व्यवस्था जस्ता पहल आवश्यक रहेको सरोकारवालाहरूले औँल्याएका छन्।