काठमाडौं: नेपाल भ्रमणमा रहनुभएका बेलायतका अधिराजकुमार ड्युक अफ एडिनबरा एडवार्डले राष्ट्रपति रामचन्द्र पौडेलसँग शीतल निवासमा शिष्टाचार भेट गरेका छन्।
राष्ट्रपतिको कार्यालयका अनुसार आज भएको उक्त भेटमा द्विपक्षीय आपसी हितका विविध विषयमा छलफल भएको थियो। राष्ट्रपति पौडेलले जलवायु परिवर्तनलाई विश्वको प्रमुख चिन्ताको विषयका रूपमा औंल्याउँदै यसको समाधानका लागि संयुक्त प्रयास आवश्यक भएको बताए।
उहाँले भने, “नेपाल जलवायु परिवर्तनको प्रत्यक्ष मारमा परेको देश हो। हिमाल संरक्षणको विषयलाई विभिन्न अन्तर्राष्ट्रिय मञ्चहरूमा प्राथमिकताका साथ उठाउँदै आएको छ।”
राष्ट्रपति पौडेलले नेपालले ‘सगरमाथा संवाद’को थालनी गर्न लागेको जानकारी दिँदै सो मञ्चको पहिलो संस्करण आगामी मे १६ देखि १८ सम्म काठमाडौंमा ‘जलवायु परिवर्तन, हिमाल र मानवको भविष्य’ विषयमा आयोजना गरिने बताए।
नेपाल–बेलायतको सुमधुर सम्बन्ध
राष्ट्रपति पौडेलले बेलायतका राजपरिवारका सदस्यहरूको नेपाल भ्रमणले दुई देशबीचको सम्बन्धलाई अझ मजबुत बनाएको स्मरण गरे। उहाँले महारानी एलिजाबेथ द्वितीय र राजकुमार फिलिपको सन् १९६० र १९८६ को नेपाल भ्रमणको पनि स्मरण गरे।
उहाँले बेलायतको नेपालप्रतिको विकास साझेदारीमा योगदानको प्रशंसा गर्दै राजा चार्ल्सको व्यक्तिगत सुख तथा सुस्वास्थ्यको कामना पनि व्यक्त गरे।
अधिराजकुमारको जलवायु चासो र महिला सशक्तीकरणमा जोड
अधिराजकुमार एडवार्डले नेपालमा जलवायु परिवर्तनले पारेको प्रभावबारे भ्रमणका क्रममा जानकारी हासिल गर्ने विश्वास व्यक्त गरे। हिमालमा जलवायु परिवर्तनका असरबारे बुझ्ने अपेक्षा राख्दै उनले नेपाल–बेलायत सहयोग आदानप्रदानमा युवा र महिला सशक्तीकरणको विषय थप सान्दर्भिक हुने धारणा व्यक्त गरे।
उनले ब्रिटिस सेनामा नेपाली भर्तीको स्वीकृतिका लागि आभार प्रकट गर्दै ब्रिटिस गोर्खा सैनिकको सम्बन्धलाई नेपाल–बेलायतको सुमधुर सम्बन्धको कोसेढुङ्गा भने।
गोर्खा ब्रिगेडको प्रतिवेदन पेस
सोही अवसरमा बेलायती सेनाको गोर्खा ब्रिगेडका प्रमुख मेजर–जनरल जेराल्ड स्ट्रिकल्याण्डले ‘ब्रिगेड अफ गोर्खा’ को सन् २०२४ को वार्षिक प्रतिवेदन राष्ट्रपति पौडेललाई पेस गरे।
राष्ट्रपति पौडेलले बेलायत सरकारप्रति आभार प्रकट गर्दै ‘ब्रिटिस–गोर्खा’ लाई नेपाल–बेलायत सम्बन्धको महत्वपूर्ण कडीको रूपमा व्याख्या गरे।
उहाँले पूर्वब्रिटिस गोर्खाका केही जायज गुनासाहरू सम्बोधन गर्न गठित द्विपक्षीय संयन्त्रमा सकारात्मक छलफल भइरहेको विश्वास पनि व्यक्त गरे।