काठमाडौँ — नेपाल–चीन व्यापारका लागि महत्त्वपूर्ण मानिने उत्तरी नाका रसुवागढी छिट्टै सञ्चालनमा आउने भएको छ। गत असार २४ गते चीनतर्फबाट आएको बाढीले मितेरी पुल बगाएपछि पाँच महिनादेखि अवरुद्ध रहेको नाका अब पुनः सुचारु हुन लागेको हो। चीनले निर्माण गर्दै आएको बेलिब्रिजको काम अन्तिम चरणमा पुगेपछि नाका सञ्चालनको तयारी तीव्र भएको हो।
रसुवाका सहायक प्रमुख जिल्ला अधिकारी ध्रुवप्रसाद अधिकारीका अनुसार बेलिब्रिजको निर्माण कार्य पूरा हुने चरणमा पुगेको छ। निर्माण सकिएपछि लोड क्यापासिटी परीक्षण गरिने र परीक्षण सफल भएपछि चिनियाँ पक्षले पुल नेपाल सरकारलाई हस्तान्तरण गर्ने उनले बताए। पुल हस्तान्तरणपछि हुने समकक्षी बैठकमार्फत नाका सञ्चालनको आधिकारिक मिति तय गरिनेछ।
बाढीले क्षति पुर्याएको मितेरी पुलको सट्टा चीनले आफ्नै लगानी र प्रविधिमा नयाँ बेलिब्रिज निर्माण गरिरहेको हो।
कोरोला नाका बन्द हुँदै
मुख्य नाका अवरुद्ध भएपछि विकल्पका रूपमा सञ्चालनमा आएको मुस्ताङको कोरोला नाका अब बन्द हुँदैछ। अत्यधिक चिसोका कारण चिनियाँ पक्षले डिसेम्बर १ बाट नै नाका बन्द गर्ने निर्णय गरेको हो। यद्यपि, सडकमा रहेका तथा जाँचपास प्रक्रियामा परेका कन्टेनर पार गराउनु परेकाले नाका केही समय खुला राखिएको छ। तर चीनबाट नयाँ सामान लोड गर्ने प्रक्रिया रोकिएको व्यवसायीहरूले बताएका छन्।
दसैँ–तिहारको समयमा रसुवा र तातोपानी नाका बन्द हुँदा अर्बौँ रुपैयाँको सामान तिब्बतमै अड्किएपछि व्यवसायीहरू ठूलो संकटमा परेका थिए। कोरोला नाका खुल्दा आशा पलाएको भए पनि बन्द हुने सूचनापछि पुनः निराशा बढेको छ। तर अब रसुवागढी नाका पुनः सुचारु हुने पक्कापक्की भएपछि व्यवसायीहरूमा नयाँ आशा जागेको छ।
आयात–निर्यात तथ्यांक
दसैँपछि खुला गरिएको कोरोला नाकाबाट कात्तिक मसान्तसम्म ७ अर्ब ३७ करोड ८ लाख रुपैयाँ बराबरको वस्तु आयात भएको छ। त्यस्तै ८ करोड ३८ लाख रुपैयाँ बराबरको वस्तु निर्यात भएको छ।
तातोपानी नाकाबाट सोही अवधिमा १३ अर्ब ३५ करोड रुपैयाँ बराबरको वस्तु आयात भए पनि निर्यात शून्य रहेको छ।
रसुवागढी भन्सारमा भने बाढी पहिरो अघि भित्रिएका तर पछि जाँचपास भएका ३८ करोड रुपैयाँ बराबरका वस्तु आयातका रूपमा देखिएका छन्।
सडक विस्तार कार्य अघि बढ्दै
स्याफ्रुबेँसी–रसुवागढी सडक विस्तारका लागि सरकारले बाधा बनिरहेको प्रशासनिक अनुमति र दस्तुर छुटको समस्या समाधान गरेको छ। हालैको मन्त्रिपरिषद् बैठकले चीन सरकारको अनुदानमा बन्ने सडक विस्तारका लागि आवश्यक निकुञ्ज क्षेत्र अस्थायी रूपमा प्रयोग गर्न अनुमति दिएको छ।
राष्ट्रिय निकुञ्जभित्र करिब २० हजार वर्ग मिटर क्षेत्र परियोजनाले अस्थायी रूपमा प्रयोग गर्न पाउने निर्णय भएको छ।
चीनले स्याफ्रुबेँसी–रसुवागढी १५.७ किलोमिटर सडक विस्तारको काम अघि बढाइसकेको छ। नेपाल सरकारले ढुंगा, गिट्टी, बालुवा उत्खननका दस्तुर छुट दिने निर्णय गरेपछि विस्तार कार्य अब छिट्टै अघि बढ्ने अपेक्षा गरिएको छ।
सडक विस्तार पूरा भएपछि रसुवागढी नाकाबाट हुने नेपाल–चीन व्यापार दीर्घकालीन रूपमा सहज हुने विश्वास गरिएको छ।


