काठमाडौं। नेकपा माओवादी केन्द्रको केन्द्रीय समिति बैठकले आगामी छ महिनाभित्र अभियान सञ्चालन गर्ने र त्यसपछि अर्को छ महिनामा तयारी गरी महाधिवेशनका लागि जाने निर्णय गरेको छ।
अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले बैठकमा छ महिनाभित्र अभियान सञ्चालन गरी असारमा केन्द्रीय समिति बैठकको आयोजना गरेर हालको केन्द्रीय समितिलाई महाधिवेशन आयोजक समितिमा परिवर्तन गर्ने घोषणा गरेका छन्।
अध्यक्ष दाहालले जनतासँगको अभियानबाट प्राप्त सुझाव महाधिवेशन तयारीका लागि उपयोगी हुने बताउँदै, माघ महिनाभरि अभियानको तयारी गर्ने र फागुन १ गते जनयुद्ध दिवस मनाएर हुलाकी र पूर्वपश्चिम राजमार्गमा जनतासँग माओवादी अभियान सञ्चालन गर्ने निर्णय बैठकले गरेको जानकारी दिए।
त्यसैगरी, चैत महिनाभरि तयारी गरी वैशाखमा हिमाली र मध्यपहाडी क्षेत्रका जनतालाई लक्षित गर्दै मध्यपहाडी लोकमार्गमा माओवादी अभियान सञ्चालन गर्ने निर्णय गरिएको छ।
बैठकले सबै नेताहरूलाई जिम्मेवारी प्रदान गर्ने कार्ययोजना पारित गरेको छ। केन्द्रीय कार्यालयले एक हप्ताभित्र सबै नेताहरूको कार्यविभाजन अन्तिम रूप दिने र माघ पहिलो साताभित्र सर्कुलर पठाउने अध्यक्ष दाहालले बताए।
साथै, विचार मिल्ने पार्टीहरूसँग एकता प्रक्रिया अघि बढाउन उच्चस्तरीय पार्टी एकता संवाद समिति गठन गरिएको छ। समितिले छिट्टै एकता वार्ता अघि बढाउने निर्णय गरेको छ।
बैठकले अध्यक्ष दाहालद्वारा प्रस्तुत ‘पार्टी रूपान्तरण र पुनर्गठनको संकल्प, आजको ऐतिहासिक आवश्यकता’ शीर्षकको राजनीतिक प्रस्ताव परिमार्जनसहित पारित गरेको छ। सो प्रस्तावमा पदाधिकारी र सदस्य गरी ११८ जनाले सुझाव दिएका थिए।