काठमाडौं। प्रधानमन्त्री तथा नेपाल कम्युनिष्ट पार्टी (एमाले) का अध्यक्ष केपी शर्मा ओलीले पार्टीभित्र कुनै पनि समूह नरहेको र सबै नेता तथा कार्यकर्ता वर्तमान एमालेको एकीकृत पंक्ति भएको बताएका छन्।
एमाले केन्द्रीय कमिटीको आठौँ बैठकमा राजनीतिक प्रतिवेदनमाथि छलफल सम्पन्न गर्दै समापन मन्तव्य दिँदै अध्यक्ष ओलीले अब पार्टीमा पूर्वमाले, पूर्वमाओवादी वा १० बुँदेजस्ता समूहहरूको अस्तित्व नरहेको बताएका हुन्। उनले यस्ता पूर्वसमूहहरू खोज्नतिर समय नखर्चिन आग्रह गर्दै भने, ‘एमालेमा अब कुनै पनि पूर्वसमूह छैनन्। हामीले भरभराउँदो वर्तमानको एमाले खोज्नुपर्छ। हामी यथास्थितिवादी होइनौँ, क्रान्तिकारी हौँ। हाम्रो लक्ष्य समाजवाद, समृद्ध नेपाल र सुखी नेपाली हो। आन्तरिक र बाह्य चुनौतीहरूसँग एकजुट भएर लड्दै देशको हितमा प्रभावकारी काम गर्नुपर्छ।’
ओलीले पार्टीभित्र स्वस्थ र रचनात्मक आलोचना स्वागतयोग्य भए पनि लोकतन्त्रको नाममा गुटबन्दी र अराजकता कहिल्यै स्वीकार्य नहुने बताए। उनले मुलुकलाई स्थायित्व र समृद्धितर्फ अघि बढाउन वर्तमान सरकारले कांग्रेस र एमालेको सहकार्यमा देश र जनताको पक्षमा काम गरिरहेको स्पष्ट गरे। उनले आफ्नो सरकार चुनावदेखि चुनावसम्मको केवल सत्ता-यात्राका लागि नभई समाजवादको लक्ष्य प्राप्तिमा केन्द्रित रहेको बताए।
पार्टीका नेता–कार्यकर्तालाई सामाजिक सञ्जालको प्रभावकारी प्रयोग गर्न र भएका सकारात्मक कामहरूको प्रचार गर्न आह्वान गर्दै, ओलीले असंलग्न परराष्ट्र नीति र सन्तुलित छिमेक नीतिप्रति सरकार दृढ रहेको स्मरण गराए। उनले छिमेकी देशहरूको विकासबाट लाभ लिनुपर्नेमा जोड दिदैं नेपालको राजनीतिक नक्सामा समेटिएको भूमि फिर्ता लिने अठोट पुनः व्यक्त गरे।
पुस २१ गते सुरु भएको केन्द्रीय कमिटीको बैठकले राजनीतिक प्रतिवेदन र संगठन सुधारका योजना पारित गर्दै समापन भएको छ।