Monday, January 13, 2025
Homeमुख्य समाचारपहिलो डोजका लागि सास्ती खेप्दै जनता, लगाइसकेकालाई दोस्रो डोजको चिन्ता

पहिलो डोजका लागि सास्ती खेप्दै जनता, लगाइसकेकालाई दोस्रो डोजको चिन्ता

नेपाल सरकारले नेपालका ७२ प्रतिशत जनतालाई निःशुल्क कोरोनाविरुद्धको खोप उपलब्ध गराउने बताएको थियो । प्रधानमन्त्री, मन्त्रीदेखि सरकारी अधिकारीहरु यो दाबीलाई पटक–पटक दोहोर्‍याउँथे । तर, आज सरकारको दाबी र वास्तविकतामा आकाश जमिनको अन्तर देखिन्छ । खोप केन्द्रमा गएर हेर्ने हो भने खोप अभियान कति भद्रगोल छ भने प्रष्ट देखिन्छ । यतिबेला कोरोनाविरुद्धको खोपको पहिलो डोज लगाउन खोप केन्द्रहरुमा हानथाप छ भने यसअघि पहिलो डोज लगाएर बसेका जनता दोस्रो डोज पाउने हो कि नपाउने हो भन्ने अन्योलमा छन् ।

खोप अभियानको प्रथम चरणमा पहिलो प्राथमिकतामा पर्ने फ्रन्टलाइनरहरु नै खोप लगाउन हिच्किचाइरहेका थिए । गत माघ महिनामा कोरोना संक्रमण न्यून संख्यामा देखिँदा भारत सरकारले अनुदान सहयोगमा उपलब्ध गराएको कोभिशिल्ड खोप लगाउन त्रसित थिए । सरकारले खोप अभियानको पहिलो चरणको पहिलो प्राथमिकतामा पर्नेलाई १० दिनको अवधिका ४ लाख ३० हजारलाई खोप दिने लक्ष्यसहित अभियान चलाउँदा नवौँ दिनसम्म ३७ प्रतिशतले मात्रै खोप लगाएका थिए । पछि, संक्रमण बढ्न थालेपछि भने विस्तारै खोप लगाउनेको संख्या बढेको थियो ।

​परिवार कल्याण महाशाखा अन्र्तगत, खोप शाखाका प्रमुख डा. झलक शर्मा गौतमका अनुसार कोभिशिल्ड खोप पहिलो मात्रा २० लाखभन्दा बढीले लगाएका छन् । कोभिशिल्डको खोपको दुबै मात्रा करिब ४ लाख जनाले लगाइसकेको उनको भनाइ छ । चैत्र २५ गतेबाट शुरु भएको खोप अभियानमा चीनबाट प्राप्त भेरोसेल खोप करिब ३ लाख जनाले लगाएको पनि उनले जानकारी दिए ।

भारत सरकारको अनुदान सहयोगमा कोरोनाविरुद्धको खोप १० लाख डोज, सरकारले खरिद गरेको १० लाख डोज र कोभ्यासमार्फत ३ लाख ४८ हजार डोज गरी २३ लाख ४८ हजार डोज खोप नेपालमा भित्रिएको छ । यस्तै चीन सरकारको अनुदान सहयोगमा ८ लाख डोज भेरोसेल खोप नेपालले प्राप्त गरेको छ ।

कोभिशिल्डको अन्योलता कायमै

नेपालले भारतसँग खरिद गरेको १० लाख डोज कोभिशिल्ड खोप कहिले आउने भन्ने टुङ्गो लाग्न सकेको छैन । कोभिशिल्ड खोप अभावमा खोप अभियान नै रोकिएको छ । त्यसयता सरकारले पटक–पटक खोप आउने मिति तोके पनि खोप आउन सकेको छैन । यद्यपि स्वास्थ्य मन्त्रालयलले भने कोभ्याक्स सुविधाको खोप भने आउने तयारीमा भइरहेको भन्न छाडेको छैन।

सरकारले भारतसँग कमर्सियल मूल्यमा ५० लाख कोभिशिल्ड खोप खरिद गर्ने तयारी पनि गरिरहेको थियो । तर, यसमा पनि एजेन्ट जबर्जस्ती छिर्न खोजेको भन्दै स्वास्थ्य मन्त्रालयमा आयोजना गरिएको सर्वाजनिक कार्यक्रममा नै स्वास्थ्य मन्त्री हृदयेश त्रिपाठीले असन्तुष्टि जनाएका थिए । अहिले भारतमा कोरोना संक्रमण उच्चविन्दुमा रहेको बेला सेरम इस्सिच्युटमार्फत् उत्पादित खोप विदेशमा निर्यात नै रोकेको छ ।

कोभ्याक्स सुविधामार्फत कुल जनसंख्याको २० प्रतिशतलाई पुग्ने करिब ६० लाख डोज खोप उपलब्ध गराउने भनिएपनि मध्ये हालसम्म ३ लाख ४८ हजार खोपमात्रै नेपालले प्राप्त गरेको छ ।

कोभिशिल्ड खोप दुई डोज लगाउनुपर्छ । तर, फागुन २३ गतेदेखि यही चैत ३ गतेसम्म खोपको पहिलो मात्रा लगाएका करिब १६ लाख नागरिकले दोस्रो मात्रा कहिले पाउँछन् अनिश्चित जस्तै छ । स्वास्थ्य मन्त्रालयका प्रवक्ता प्रा.डा. जोगेश्वर गौतममा अनुसार भारतसँग खरिद गरेको १० लाख डोज कोभिशिल्ड खोप कहिलेसम्म आइपुग्छ भन्ने अझै टुंगो लागेको छैन ।  कोभ्याक्स सुविधामार्फत नेपालले प्राप्त गर्ने कोभिशिल्ड खोप, खरिद गरेको १० लाख डोज खोप आयातको सम्बन्धमा छलफल भइरहेको उनले बताए ।

भेरोसेल खोप अभियान भोलिदेखि बन्द

उपत्यकाका सिमित स्थानमा भेरोसेल खोप अभियान सञ्चालन भइरहेको छ । चीन सरकारले अनुदानमा दिएको ८ लाख डोज खोप चैत्र २५ गतेदेखि २३ सम्म काठमाडौँ, ललितपुर, भक्तपुर, काभ्रे, सिन्धुपाल्चोक, नुवाकोट र रसुवा जिल्लाका २३ स्थानमा खोप अभियान सञ्चालन गरिएको थियो । उक्त खोप पहिलो चरणमा १८ देखि ५९ वर्ष उमेर समूहका प्राध्यापक, चीनमा छात्रवृत्तिमा अध्ययन गर्ने नेपाली विद्यार्थी र नेपाली व्यापारीलाई दिइएको थियो ।

यस्तै भेरोसेल खोप यस्तै यसअघि लगाउन छुटेका अग्रपङ्क्तिमा खटिने जनशक्ति, अत्यावश्यक सेवामा काम गर्ने कर्मचारी, होटल, ट्रेकिङ, विज्ञापन, इन्टरनेट, औषधि, फलफूल र तरकारी व्यवसाय गर्ने व्यक्तिहरुले लगाएका छन् ।

चिनियाँ भेरोसेल खोप करिब ३ लाखले लगाएपछि उपत्यकाका सिमित अस्पतालबाट आम सर्वसाधारणका लागि खुल्लारुपमा दिन सुरु गरेको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ । अबको दुई दिनमा भेरोसेल खोपको पहिलो मात्रा दिने कार्यक्रम स्थगित गर्ने खोप शाखाका प्रमुख डा.गौतमले बताए ।

रातोप्ती बाट साभार

सम्बन्धित समाचार
- Advertisment -spot_img

ताजा समाचार

धेरै कमेन्ट गरिएका