Friday, February 7, 2025
Homeमनोरन्जन‘नेपाली चलचित्र उद्योगलाई बलियो बनाउने सम्भावना छ’ – सञ्चारमन्त्री गुरुङ

‘नेपाली चलचित्र उद्योगलाई बलियो बनाउने सम्भावना छ’ – सञ्चारमन्त्री गुरुङ

काठमाडौं: सञ्चार तथा सूचना प्रविधिमन्त्री पृथ्वीसुब्बा गुरुङले नेपाली चलचित्र उद्योग बलियो रूपमा स्थापित हुने उज्ज्वल सम्भावना देखिएको बताउनुभएको छ। चाबहिलस्थित चलचित्र विकास बोर्डको सभाहलमा आयोजित छैटौँ ‘नेपाल कल्चरल इन्टरनेशनल फिल्म फेस्टिभल’को समापन समारोहमा उहाँले नीतिगत सुधार, आवश्यक बजेट तथा कार्यक्रम व्यवस्थापनले नेपाली चलचित्रले दक्षिण एसियामा भारतपछिको महत्त्वपूर्ण स्थान हासिल गर्न सक्ने धारणा राख्नुभयो।

मन्त्री गुरुङले भन्नुभयो, “चलचित्र क्षेत्रमा देखिएका समस्याहरू समाधान गर्न नयाँ ऐन ल्याउँदैछौं। हामी प्राकृतिक र सांस्कृतिक सम्पदाले धनी भएकाले अन्य चलचित्र क्षेत्रलाई पछि पार्न सक्छौं।” यसै वर्ष ‘इन्डोर स्टुडियो’का लागि भवन निर्माण सुरु हुने जानकारी पनि दिनुभयो।

चलचित्र विकास बोर्डका अध्यक्ष दिनेश डिसीले आफूले सुरु गरेका योजनाहरूको सकारात्मक नतिजा विस्तारै देखिन थालेको बताउनुभयो। “चलचित्र महोत्सवहरूले अन्तर्राष्ट्रिय चलचित्रकर्मीहरूलाई जोड्न र सांस्कृतिक आदानप्रदानमा भूमिका खेल्छन्,” उहाँले भन्नुभयो, “यसले नेपाली चलचित्रलाई विश्वस्तरमा पुर्याउन मद्दत पुर्याउँछ।”

महोत्सवको समापनमा निर्देशक मोहन अभिलासीको लघु चलचित्र ‘पालो’ प्रदर्शन गरिएको थियो। तीन दिनसम्म चलेको महोत्सवमा १५ अन्तर्राष्ट्रिय र १५ राष्ट्रिय विधामा पुरस्कार वितरण गरियो।

राष्ट्रिय पुरस्कार समूहमा उत्कृष्ट निर्देशकको पुरस्कार दिनेश राउत (पुजार सार्की)लाई दिइयो भने उत्कृष्ट चलचित्रतर्फ ‘बुलाकी’, छोटो चलचित्रतर्फ ‘रित्तो गाउँ’, महिला केन्द्रित चलचित्रतर्फ ‘पेरिओड’, बाल चलचित्रतर्फ ‘द स्कुलज वाल’, वृत्तचित्रतर्फ ‘नो मोनेस्टरी नो भिजेल’, सांस्कृतिक चलचित्रतर्फ ‘छिपागु नीला’ पुरस्कृत भए।

अभिनयतर्फ आर्यन सिग्देल (पुजार सार्की) र अञ्जना बराइली (पुजार सार्की) उत्कृष्ट घोषित भए। छायांकनतर्फ शिव ढकाल (बुलाकी) र लेखनतर्फ सानोल दास (पखेटा) पुरस्कृत हुनुभयो।

अन्तर्राष्ट्रिय निर्णायकहरूमा भारतका निर्देशक निपोन धौला, जर्मनीका फाविन मात्थियस, बेलायतका लुइसा प्रिटोलानी, क्यानडाकी जुडी ग्लाडस्टोन, इरानकी तिमा टाघिजादेह, बहराइनकी इभा दाउद र रसियाकी इरिना बेराजी सहभागी थिए।

राष्ट्रिय निर्णायकहरूमा संगीतकार शम्भुजीत बाँस्कोटा, अभिनेत्री मिथिला शर्मा, अभिनेता प्रदीप खड्का, अभिनेत्री सुरक्षा पन्त, निर्देशक दीपेन्द्र खनाल, निर्माता रौनकविक्रम कँडेल, निर्देशक दिनेश लिङ्देन र टीकाराम यात्री रहेका थिए।

सम्बन्धित समाचार

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

- Advertisment -spot_img

ताजा समाचार

धेरै कमेन्ट गरिएका