Thursday, December 11, 2025
Homeराजनीतिनेपाली कांग्रेसमा लामो छलफलपछि १५औँ महाधिवेशनको मिति तय

नेपाली कांग्रेसमा लामो छलफलपछि १५औँ महाधिवेशनको मिति तय

काठमाडौँ – मुलुकको सबैभन्दा ठूलो प्रजातान्त्रिक दल नेपाली कांग्रेसमा लामो छलफलपछि नियमित महाधिवेशनमा जाने सहमति जुटेको छ। पार्टी केन्द्रीय कार्यसमितिले सोमबार बैठक गर्दै पार्टीको १५औँ महाधिवेशन आगामी पुस २६ देखि २८ गतेसम्म काठमाडौंमा गर्ने निर्णय गरेको छ।

पार्टीभित्र संस्थापन र अन्य पक्षबीच आमनिर्वाचन अघि वा पछि महाधिवेशन गर्ने विषयमा डेढ महिनादेखि बहस चलिरहेको थियो। महाधिवेशनको तालिकाअनुसार कांग्रेसले क्रियाशील सदस्यता वितरण र वडादेखि जिल्ला तहसम्मका अधिवेशनलाई जनतासम्म पुग्ने अवसरका रूपमा प्रयोग गर्ने योजना बनाएको छ।

महामन्त्री विश्वप्रकाश शर्माले भने, “कांग्रेस अब महाधिवेशनसँगै निर्वाचनको अभियान पनि सञ्चालन गर्दै गाउँ-नगरमा जानेछ। यो केवल महाधिवेशन मात्र होइन, वर्तमान राजनीतिक घटनाक्रम र जेनजी आन्दोलनको परिवर्तनप्रति पार्टीको दृष्टिकोण जनतालाई देखाउने अवसर हो।”

कार्यवाहक सभापति पूर्णबहादुर खड्काले सर्वसम्मति भएका निर्णयले पार्टीलाई वर्तमान प्रतिकूल परिस्थितिमा एकताबद्ध राख्ने र आगामी निर्वाचनमा सक्रिय रूपमा सहभागी बनाउने विश्वास व्यक्त गरे।

महाधिवेशनको कार्यतालिका अनुसार, पुस १६ गते गाउँ-नगर वडा अधिवेशन, पुस १७ गते गाउँ/नगरपालिका अधिवेशन, पुस १९ गते प्रदेशसभा क्षेत्रीय अधिवेशन, पुस २१ गते प्रतिनिधिसभा क्षेत्रीय अधिवेशन, पुस २२ गते जिल्ला अधिवेशन र पुस २३–२४ गते सातै प्रदेश अधिवेशन सम्पन्न गरिने छ।

कांग्रेसले आगामी माघ ११ गते हुने राष्ट्रियसभा सदस्य निर्वाचन र प्रतिनिधिसभा सदस्य निर्वाचनका लागि उम्मेदवारको नाम प्रस्ताव र सिफारिस गर्ने प्रक्रियासमेत अघि बढाउने निर्णय गरेको छ।

सभापति शेरबहादुर देउवाले स्वास्थ्य कारणले उपसभापति पूर्णबहादुर खड्कालाई कार्यवाहक सभापति नियुक्त गरेका थिए। भदौ २३–२४ गतेको जेनजी आन्दोलनका क्रममा सभापति देउवा र उनका धर्मपत्नी डा आरजु राणा देउवा घाइते भएका थिए।

सम्बन्धित समाचार

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

- Advertisment -spot_img

ताजा समाचार

धेरै कमेन्ट गरिएका