काठमाडौँ: नेपाल अन्तर्राष्ट्रिय चलचित्र महोत्सव (निफ) को आठौँ संस्करण आगामी चैतमा आयोजना हुने भएको छ। नेपाल चलचित्र तथा सांस्कृतिक प्रतिष्ठानको आयोजनामा हुने महोत्सवमा ४० देशका ८७ चलचित्र सहभागी हुने महोत्सवका अध्यक्ष केपी पाठकले जानकारी दिनुभयो।
अध्यक्ष पाठकका अनुसार, ७० देशका छ सयभन्दा बढी चलचित्रको आवेदनमध्येबाट निर्णायक समितिले यी चलचित्र छनोट गरेको हो। “यस पटकको महोत्सवलाई अझ भव्य र आकर्षक बनाउने तयारी गरिरहेका छौँ,” पाठकले भन्नुभयो। “चलचित्र प्रेमी दर्शकलाई आकर्षित गर्न प्राप्त चलचित्रमध्ये उत्कृष्ट चलचित्र छनोट गरेका छौँ। यसले विश्वभरका चलचित्रकर्मीबीचको भेटघाट, छलफल र चलचित्र आदानप्रदानको थलो बन्नेछ।”
महोत्सवमा स्वदेशी तथा विदेशी चलचित्रकर्मी, राजनीतिज्ञ, र समाजका प्रतिष्ठित व्यक्तित्वसँग छलफलका साथै विभिन्न कार्यशालाहरू पनि सञ्चालन हुनेछन्। महोत्सवलाई राष्ट्रिय र अन्तर्राष्ट्रिय प्रतिस्पर्धाका रूपमा वर्गीकरण गरिएको छ।
राष्ट्रिय प्रतिस्पर्धा:
नेपाली कथानक चलचित्रको प्रतिस्पर्धा ‘नेसनल पानोरमा’ मा जोन योञ्जनको क्रलिङ क्रोज, दिनेश राउतको पूजार सार्की, विनोद पौडेलको भूठान, र लक्ष्मण सुवेदीको सतीदेवी छनोट भएका छन्।
नेपाली वृत्तचित्र प्रतिस्पर्धामा सुविना श्रेष्ठको देवी, रजिला श्रेष्ठको छेसाङ, गौरव आयरको मुक्ति, तासी लाजोमको नो मोनास्ट्री नो भिलेज, दीपा श्रेष्ठको उड्ने सपना, र लव प्याकुरेलको गल्र्स रिराइटिङ डेस्टिनी छनोट भएका छन्।
एआई चलचित्रको नयाँ विधा थप
यस संस्करणदेखि एआई प्रविधिबाट बनेका वा सोसम्बन्धी विषयमा आधारित चलचित्रको प्रतिस्पर्धा पनि थप गरिएको छ। ‘एआई फिल्म्स’ विधामा चीनको एभ्री हेजिस्टेसन अफ योर्स क्यान डिस्ट्रोय दी वर्ल्ड, अर्जेन्टिनाको दी एबिस, फ्रान्सको गोल्ड कास्टिङ, पेरूको दी ड्रिम, दी फग एन्ड दी रेन, र अमेरिकाको मब पार्ट १ समावेश छन्।
पुरस्कार र राशिहरू
अन्तर्राष्ट्रिय प्रतिस्पर्धा:
सर्वोत्कृष्ट चलचित्रलाई १,५०० अमेरिकी डलरसहित ‘गौतम बुद्ध अवार्ड’ प्रदान गरिनेछ।
विशेष पुरस्कार:
राष्ट्रिय तथा अन्तर्राष्ट्रिय चलचित्रमध्ये एक उत्कृष्ट चलचित्रलाई ‘अन्तर्राष्ट्रिय चलचित्र समाज महासङ्घ’ को तर्फबाट ‘डन कि होते’ पुरस्कार प्रदान गरिनेछ।
नेपाली प्रतिस्पर्धा:
नेपाली उत्कृष्ट चलचित्रलाई रू १ लाख नगद र ट्रफी प्रदान गरिनेछ। उत्कृष्ट छोटो चलचित्र र वृत्तचित्रलाई जनही रू ५०,००० नगद र ट्रफी प्रदान गरिनेछ।
अन्य पुरस्कारहरू:
सर्वोत्कृष्ट अन्तर्राष्ट्रिय वृत्तचित्रलाई १,००० अमेरिकी डलरसहित ‘माउन्ट एभरेस्ट अवार्ड’ र सर्वोत्कृष्ट अन्तर्राष्ट्रिय लघु चलचित्रलाई ५०० अमेरिकी डलरसहित ‘बागमती अवार्ड’ प्रदान गरिनेछ।
एआई प्रविधिबाट बनेका चलचित्रका लागि ५०० अमेरिकी डलरसहित ‘मञ्जुश्री अवार्ड’ प्रदान गरिनेछ।
यस वर्षको महोत्सवले नेपाली चलचित्र उद्योगलाई अन्तर्राष्ट्रिय मञ्चमा उभ्याउन थप योगदान दिने अपेक्षा गरिएको छ।