नवलपुर (नवलपरासी): यस वर्ष नवलपुर (बर्दघाट–सुस्तापूर्व) मा रु नौ करोड बराबरको सुन्तला उत्पादन भएको छ। सुन्तला खेतीको क्षेत्रफल बढेसँगै उत्पादनमा पनि वृद्धि भएको कृषि ज्ञान केन्द्र नवलपुरले जानकारी दिएको छ।
केन्द्रका सूचना अधिकारी विश्वास काफ्लेका अनुसार गत वर्ष रु सात करोड १८ लाख बराबरको सुन्तला उत्पादन भएको थियो। पहाडी क्षेत्रमा अमिला जातका फलफूलको जोन लागू भएपछि किसानहरूको सुन्तला खेतीमा आकर्षण बढेको उहाँले बताउनुभयो।
गत वर्ष कुल २२६ हेक्टर क्षेत्रफलमा सुन्तला खेती गरिएकामा १४१ हेक्टर क्षेत्रफलबाट मात्र उत्पादन भएको थियो। तर यस वर्ष क्षेत्रफल बढेर २५६ हेक्टर पुगेकोमा १६१ हेक्टर क्षेत्रफलमा सुन्तला उत्पादन भएको छ। गत वर्षको एक हजार दुई सय २७ मेट्रिक टन उत्पादनभन्दा वृद्धि हुँदै यस वर्ष एक हजार चार सय १४ मेट्रिक टन सुन्तला उत्पादन भएको छ।
जोन लागू भएपछि किसानले बिरुवामा अनुदानसहित यान्त्रिक र प्राविधिक सहयोग पाउन थालेको अधिकारी काफ्लेले बताउनुभयो। “पहाडी क्षेत्रमा अन्य खेतीबाट राम्रो उत्पादन नहुने भएकाले किसानहरू सुन्तला खेतीतर्फ आकर्षित भएका छन्,” उहाँले थप्नुभयो।
बौदिकाली र बुलिङटार गाउँपालिका तथा गैँडाकोट नगरपालिकाको वडा नम्बर १८ मा व्यावसायिक रुपमा सुन्तला खेती गरिँदै आएको छ। जिल्लामा हाल तीन हजार दुई सय किसानले सुन्तला खेती गरिरहेका छन्।