Homeकला/साहित्यदुःखले मार्नमात्रै खोज्छ तर मार्नैचाहिँ सक्दैन

दुःखले मार्नमात्रै खोज्छ तर मार्नैचाहिँ सक्दैन

म पृथाको खोजीमा हिँडेको थिएँ । पाण्डु पनि खोज्ने मेरो लक्ष्य थियो । मैले माद्रीलाई पनि खोजें । भाषा, संस्कृति र इतिहास पढ्दापढ्दै म आफैं देवव्रत भएछु ।

पृथा खोज्न हिँडेको म धर्म पनि बन्न पुगें । मेरो घरायसी परिवेश र ऋषिमन भएका पिताको उत्प्रेरणाले कृपाचार्य र जङ्गलमा तपस्या गर्ने वानप्रस्थी ऋषि सन्न्यासी बनायो मलाई । यस्तैयस्तै परिवेशले उपन्यास ‘विवर्तन’लाई जन्माएको हो ।

विवर्तन उपन्यास कसरी लेखियो भन्नेबारे रोचक अनुभव छ । यो अनुभव कथात्मक रुपमा पाठकसमक्ष प्रस्तुत गर्ने जमर्को गरेको छु । उपन्यासको विषयवस्तु महाभारतमा आधारित छ । जैविक रूपले पाण्डव पाण्डुका छोरा नभए पनि महाभारतप्रति आस्था भएका तमाम पाठक पाण्डवलाई पाण्डुकै नामबाट चिन्छन् । विवर्तनमा महाभारतमा व्यासले वर्णन गर्न नभ्याएका कतिपय स–साना सन्दर्भ परिकल्पना गरिएको छ । उपन्यासमा ग्रामीण भेगमा प्रचलित लोकविश्वासले स्थान पाएको छ ।

२०६४ सालको हिउँद लागेपछि म हरिद्वारतिर लागेँ । त्यतिखेर महाभारतकी पृथालाई खोज्न भनेर निस्किएको थिएँ । गङ्गाको किनारकिनारै मैले ती सन्यासीहरूको खोजी गरेँ जसले मलाई महाभारतकै तर महाभारतभन्दा पृथक कथा भनोस् । तर फेला परेनन् ।

खानपान, नाचगान, वस्त्राभूषण, चाडपर्व सबै गृहस्थबाटै परिचालित हुन्छन् । सांसारिकताबाट विरक्तिएका तपस्वी सन्न्यासीहरूको संस्कृति भन्नु नै तप हो । तैपनि जति देखाउँदा सहज लाग्छ त्यति मात्रै देखाएँ । अन्त्यमा आफ्नै कथा लेखेँ ।

अन्तिममा खड्खडी माथिको पहाडमा मैले केही सन्न्यासी भेला भएर अन्तर्क्रिया गरिरहेको फेला पारेँ । त्यो वास्तवमा मनको आस्था र अनुपलब्धीमूलक खोजी मात्रै थियो । कथानकको मोटामोटी खाका त्यही वार्ताबाट तयार पारेर म एक हप्तापछि नेपाल फर्किएँ । तर त्यसले मलाई सन्तुष्ट बनाउन सकेन । कारण पात्रहरू मैले चाहेजसरी खुलिरहेका थिएनन् । पछि पढ्दा आफैंलाई अनौठो लागिरहेको थियो ।

सबै पात्र तयार भएपछि र उपन्यासका मोटामोटी खाका तयार भएपछि महाभारत पढें । यी सबै पात्रलाई त्यहाँकै पात्रसँग जोडें । महाभारतकै भूगोलको परिकल्पना गरें । आजको भूगोल महाभारतकै भूगोल हो । बेला–बेलामा आउने भूकम्पका कारण भूस्खलन भएर चोइटिएका पहाड र नदीले परिवर्तन गरेका धारभन्दा बढी आज नाम मात्रै परिवर्तन भएका हुन् । फेरि पनि अग्निपुराण, भागवत र महाभारतमै भएको भूगोलको वर्णनमा एकरूपता छैन । मैले आफ्नै प्रकारको भूगोलको परिकल्पना गरेँ । मेरो परिवेशका पात्रलाई विशिष्टीकरण गर्न व्यास, मनु, कौटिल्य, पतञ्जली, पाणिनि आदिका पाना पल्टाएँ । पात्रको मनोदशा तयार पार्न फ्रायडको खोजी गरेँ ।

मेरो बानी थियो पढ्दा राम्रो लागेको लाइनहरूलाई टिपोट गरेर राख्ने । तिनीहरूलाई उपन्यासमा अन्तिमतिर काम गर्दा उपयोग गरेँ । त्यसले उपन्यासलाई आधारभूत अनुसन्धानको स्तरमा पुर्‍याएको छ भन्ने मेरो बुझाइ छ तर त्यसमा सन्दर्भ उल्लेख गरिएको छैन । २०६२ सालदेखि कक्षामा व्याख्यान गर्न तयार पारिएका सामग्री त पेसासँग जोडियो नै । स्नातकोत्तर गर्दा पढिएका सिद्धान्तका व्याख्यान उपन्यास लेख्दा मस्तिष्कमा आएनन् भन्न सक्ने अवस्था नै रहेन । मलाई भिक्षु शैलीले भन्दा मैनालीशैलीले बढी आकर्षित गर्‍यो । गोठाले शैली पनि कम घतलाग्दो छैन । विवर्तन यसरी मेरा जीवनका धेरै पक्षसँग जोडिएर आएको छ । स–साना कथाका परिवेशहरू लम्बिएर उपन्यास बनेँ । वास्तवमा मेरो लेखनको गति पनि त्यस्तै रह्यो ।

मैले पृथाको अनुभूति लेख्नु थियो । त्यसैले उपन्यासभित्र अर्को सानो उपन्यास बन्न पुग्यो । खण्ड तीनदेखि नौको करिब अन्त्यसम्म पृथालाई नै उपन्यासको समाख्याता बनाएँ । उसको सम्पूर्ण जीवन उसकै मुखबाट भन्न लगाएँ । दरबारभित्रको गोप्य बैठकको सूचनाका लागि तमोजा तयार पारेँ । तमोजा खोज्न मत्स्य पुराण पुगेँ । तमोजाको हुबहु कुरा धर्मलाई सुनाउने पृथाको वर्णनशैलीमा अलिकति टालटुल पारिएको देखिएला । हो पनि त्यस्तै । तमोजा उपन्यासभरिको कान्छो पात्र हो ।

नारी र पुरुषको समागम र प्रेमको अन्तर्सत्य के हो भन्नेमा म लामो समयसम्म अन्यौलमा परिरहेँ । पुरुषलाई उत्तेजित गराउँछ बीजले । बीजाधान गरेपछि उसको उत्तेजना समन हुन्छ । यो त आफैँ अनुभव भयो । तर नारी किन समागम गर्छे ? शारीरिक सन्तुष्टिका लागि वा मातृत्वका लागि ।

मातृत्वका लागि मात्रै हो भने दैनिक रूपमा शरीर बेचेर खाने समूहलाई कसरी परिभाषित गर्ने ! पुरुषसँग समागम चाहने तर बच्चा जन्माउन नचाहने अर्को समूहलाई कसरी परिभाषित गर्ने ! यदि शारीरिक सन्तुष्टि मात्रै हो भने पीडामय गर्भावस्थालाई र प्रसववेदनाको अत्यन्त दुःखद स्थितिको सामना किन गर्ने ! यी र यसखाले प्रश्नले उपन्यास लेख्ने बेला बेचैन बनाइरह्यो ।

अन्त्यमा मातृत्व नै सबै क्रियाकलापको केन्द्रमा रहन सक्छ भन्ने निष्कर्ष निकालेँ । यसलाई दार्शनिक स्तरमा समेत व्याख्या गरिएको र अझै गर्न सकिने देखेँ साथै मानिसभन्दा अन्य प्राणीमा पनि यही घटित हुँदो रहेछ भन्ने देखियो । यसरी एउटा समस्याको समाधान गरेर पृथालाई तयार पारेको हुँ । मलाई सजिलो के भयो भने उपन्यासको अन्तिमतिर धर्म, वायु र इन्द्रलाई फर्काएँ र पृथालाई सहयोग गर्न लगाएँ । तर पृथामा उनीहरूप्रतिको पूर्ववत अनुराग भने देखाइन । त्यसपछि मैले केही भन्नु नै परेन, सबै घटनाले नै मैले देखाउन खोजेको कुरा भनिदियो ।

उपन्यासमा पूर्वीय संस्कृतिको विविध पक्ष पनि देखियोस् भन्ने शुभेच्छुकहरूको चाहना थियो । तर विषयवस्तु उच्च हिमालीक्षेत्र हंसकूटबाट प्रारम्भ भएर हस्तिनापुर प्रवेशसम्म मात्रै सीमित छ । वनमा तपस्या गर्न गएका वानप्रस्थीहरूको के संस्कृति हुन्छ ? संस्कृति त गृहस्थहरूको हुन्छ । खानपान, नाचगान, वस्त्राभूषण, चाडपर्व सबै गृहस्थबाटै परिचालित हुन्छन् । सांसारिकताबाट विरक्तिएका तपस्वी सन्न्यासीहरूको संस्कृति भन्नु नै तप हो । तैपनि जति देखाउँदा सहज लाग्छ त्यति मात्रै देखाएँ । अन्त्यमा आफ्नै कथा लेखेँ ।

म संस्कृत दर्शनको विद्यार्थी । विगतमा आश्रम बसाइको अनुभव पनि छ । त्यसैले कहिलेकाहीँ लाग्छ, ‘संसार त साँच्चिकै मायामात्रै हो । अन्तश्चेतनाले कुनै भोग माग्दैन । भोग मनले माग्छ । अन्तश्चेतनाको बोध हुनुपर्छ । म त्यतातिर पो लागौं कि ।’

मैले यसलाई घाटे वैराग्य भन्ने गरेको छु । फर्किएपछि पुनः अन्त्यहीन दौडमा दौडनु नै पर्छ । जीवनको यो विरोधाभासभित्र धेरै पात्र भौंतारिएका छन् । म पनि भौँतारिएको छु, धर्म पनि भौंतारिएको छ । जीवनको बँचाइ सपेती छैन । गन्धमादनमा फर्किएकी पृथाको दुःख लेख्दा म आफैं घनघोर दुःखबाट भर्खरै मुक्त हुँदै थिएँ । दुःख पनि सिर्जित थियो । त्यो लेखिसकेपछि बारम्बार पढेँ । हृदय रसाएर आँखासम्म आइपुग्यो ।

सबै पात्र आ–आफ्ना कर्म गर्छन् तर सकारात्मक छन् । धर्म, वायु, इन्द्र, अश्विनी एक हदसम्म जिम्मेवार छन् । शकुनि हाम्रै देशमा अस्थिरता पैदा गरिरहने बाह्य प्रवृत्ति हो । त्यसप्रति सहानुभूति राख्न आवश्यक ठानिन । त्यसैले अलिकति आलोचित छ । राज्यभित्रका सबै शक्ति मिलेर जानु नै देवव्रतको मुख्य सन्देश हो । अन्ततः देवव्रत सफल छन् । सबै स्वतन्त्र छन् पात्रहरू, कसैलाई कसैको दबाब छैन । प्रजातान्त्रिक जीवन पद्धति छ ।

उसको स्वाभावअनुसार जे गर्न मन लाग्छ गरेको छ । कुनै पात्रको जीवनमा हस्तक्षेप छैन । आवश्यकताअनुसार सबैले सबैलाई सहयोग गरेका छन् । मेरो घरको परिवेश पनि त्यस्तै थियो र अझै छँदैछ । पात्रहरूलाई यति सहजीकरण सोचेरै गरिएको छ ।

शीर्षक पनि व्यक्तिपरक राख्ने सोच थियो तर अन्त्यमा प्रवृत्तिपरक बन्न पुग्यो । पाण्डुलिपिले काठमाडौँका सडक र गल्ली नाप्नै झन्डै दुई वर्ष लगायो । र अहिले बल्ल सार्वजनिक भएको छ । मन हल्का भएको छ ।

लाग्दै छ विवर्तनले अर्को मिथकीय पात्रको खोजी गर्दैछ । हृदयभित्र त्यो उकुसमुकुस सुरु भएको छ । थुप्रै पात्र र प्रवृत्ति छुटेका छन् । आउँदा दिनमा ती पनि कुनै दुःखको कुम्ला बोकेर आइपुग्लान् ।

अन्त्यमा पृथाको अनुभूति सापट लिन चाहान्छु, ‘दुःखले मार्न मात्रै खोज्छ मार्नै चाहिँ सक्दैन ।’

अनलाईनखबर बाट साभार

सम्बन्धित समाचार
- Advertisment -spot_img

ताजा समाचार

धेरै कमेन्ट गरिएका