Tuesday, May 20, 2025
Homeराजनीति‘दलले केही गरेनन् भन्ने गलत भाष्य हो’: मुख्यमन्त्री आचार्य

‘दलले केही गरेनन् भन्ने गलत भाष्य हो’: मुख्यमन्त्री आचार्य

रामपुर (पाल्पा): लुम्बिनी प्रदेशका मुख्यमन्त्री चेतनारायण आचार्यले सङ्घीयता कार्यान्वयनपछि विकास निर्माणका कामहरूमा तीव्रता आएको बताएका छन्।

शुक्रबार रामपुर साना शहरी खानेपानी तथा सरसफाई उपभोक्ता संस्थाको आठौँ वार्षिक साधारणसभा तथा तेस्रो अधिवेशनको उद्घाटन गर्दै मुख्यमन्त्री आचार्यले २०७४ सालपछि स्थानीय, प्रदेश र सङ्घीय तीनै तहका सरकारहरूले विकासलाई प्राथमिकतामा राखेर अघि बढाएको उल्लेख गरे।

“उत्तर-दक्षिण जोड्ने कालीगण्डकी करिडोरले रामपुर मात्र होइन, सिङ्गो लुम्बिनी प्रदेशको भविष्य निर्माण गरेको छ,” मुख्यमन्त्री आचार्यले भने। उनले रामपुर अस्पताल, रामपुर–कपुरकोट सडक, र रामपुरफाँट सिँचाइ आयोजना क्रमशः अघि बढाइने जानकारी दिए।

मुख्यमन्त्री आचार्यले फरक विचार र आस्था राखे पनि विकासका लागि सबैले एउटै उद्देश्यका साथ अघि बढ्नुपर्ने आवश्यकता औंल्याए। “राजनीतिक दलहरूले केही गरेनन् भन्नेहरूलाई विगत र वर्तमानको यथार्थ मूल्याङ्कन गर्नुपर्छ,” उनले भने।

कार्यक्रममा लुम्बिनी प्रदेशसभा सदस्य तथा नेकपा (एमाले) संसदीय दलका उपनेता भोजप्रसाद श्रेष्ठले नेपाली कांग्रेस र एमालेको गठबन्धन सरकार गफको भरमा नढल्ने दाबी गरे।
लुम्बिनी प्रदेश अर्थ, उद्योग तथा पर्यटन समितिका सभापति तथा उपभोक्ता संस्थाका अध्यक्ष राजुप्रसाद श्रेष्ठले रामपुरको बढ्दो शहरीकरणसँगै खानेपानीको माग पूरा गर्न सङ्घीय सरकार, खानेपानी मन्त्रालय र सम्बन्धित विभागको सहलगानीमा रु ६२ करोड ७६ लाख ८९ हजार १८४ को लागतमा आयोजना २०८२/८३ भित्र कार्यान्वयनमा लैजाने निर्णय भएको जानकारी दिए। आयोजनाबाट झण्डै सात हजार धाराहरू जडान हुनेछन्।

रामपुर नगरप्रमुख रमणबहादुर थापाले हाल रामपुर साना शहरी खानेपानी प्रणाली भूमिगत स्रोतमा निर्भर रहेको बताए। कालीगण्डकी डाइभर्सनले यहाँको सभ्यता, वातावरण र खानेपानीका स्रोतमा प्रत्यक्ष असर पार्ने भएकाले यो योजना कुनै हालतमा पनि रोक्नुपर्ने उनले बताए।

सम्बन्धित समाचार

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

- Advertisment -spot_img

ताजा समाचार

धेरै कमेन्ट गरिएका