Homeकला/साहित्य‘गोर्खा वारियर’को धरानमा पनि प्रिमियर हुँदै

‘गोर्खा वारियर’को धरानमा पनि प्रिमियर हुँदै

काठमाडौँ । चलचित्र ‘गोर्खा वारियर’ धरानमा प्रिमियर हुने भएको छ । ११ फागुनबाट सार्वजनिक प्रदर्शनमा आएको यो चलचित्र केही अगाडि लण्डनमा प्रिमिएर भएको थियो । धरान प्रिमिएर ५ फागुनमा रहेको छ ।

पूर्व ब्रिटिस आर्मी तथा ब्रिटिस आर्मीहरुको धेरै बसोबास रहेको धरानबाट फिल्म प्रिमिएरका लागि बारम्बार आग्रह भएको कारण प्रिमियर गर्न लागिएको निर्देशक मिलन चाम्सले बताए । उनले धरानको प्रिमियरमा पूर्वका पाँचथर, इलाम, झापा, मोरङ, सुनसरी, उदयपुरका पूर्व ब्रिटिस आर्मीहरु सहभागी हुने जानकारी दिए । प्रिमियरमा ब्रिटिस गोर्खा आर्मीसँगै नेपाल आर्मी, सशस्त्र प्रहरी बल, नेपाल प्रहरीका उच्च पदाधिकारीहरू, विभिन्न सरकारी निकायका उच्च पदाधिकारीहरू, स्थानीय सरकारका प्रमुखहरू एवम् त्यहाँका विशिष्ट व्यक्तित्वहरू सहभागी हुने चाम्सको धारणा छ ।

चलचित्रको गत साता ट्रेलर रिलिज भएपछि गोर्खा वारियरको ‘हाईप’ ह्वात्तै बढेको छ । त्यसो त हालै गोर्खा वारियरले ‘ब्रिटिश एकेडेमी अफ फिल्म एण्ड टेलिभिजन आर्टस्’ (बाफ्टा) अवार्डका लागि प्रवेश पाएपछि यसको चर्चा त्यत्तिकै बढेको थियो । गोर्खा वारियर नेपाली, हिन्दी, अँग्रेजी र कोरियनगरी चार भाषामा निर्माण भएको छ । यो चलचित्रको नेपाली संस्करण तयार भइसकेको छ भने हिन्दी, कोरियन र अँग्रेजी सँस्करणको निर्माण पनि अन्तिम अवस्थामा पुगेको छ ।

गिरिराज घिमिरेको लेखन रहेको चलचित्रमा रितेश चाम्स, विजय लामा, रेविका गुरुङ, शिशिर बाङ्देल, कविता आले, रियर राई, बिरूप घले, सारा राईलगायतका कलाकारको अभिनय छ ।

चलचित्र लन्डन सिनेआई प्रोडक्सनको प्रस्तुति र चाम्स इन्टरटेनमेन्टको सहकार्यमा निर्माण भएको हो । गोर्खा वारियरको निर्मातामा सुमन राई, सुस्मिता वाइवा छन् । यसको कार्यकारी निर्मातामा प्रशान्त थापा, राजेन्द्र घिमिरे एवम् सहनिर्मातामा सुरेश राई रहेका छन् । चलचित्रमा हिमाल केसीको द्वन्द्व निर्देशन, मिलन श्रेष्ठको सम्पादन, सुदीप बरालको डीओपी छ ।

सम्बन्धित समाचार
- Advertisment -spot_img

ताजा समाचार

धेरै कमेन्ट गरिएका