Thursday, December 12, 2024
Homeकला/साहित्यगीति चलचित्र ‘मानिस ठूलो दिलले हुन्छ’ बन्ने

गीति चलचित्र ‘मानिस ठूलो दिलले हुन्छ’ बन्ने

काठमाडौं । नेपाली चलचित्रको इतिहासमा पहिलो पल्ट फिचर फिल्मको लम्बाईमा  संवादसहितको  गीति चलचित्र ‘मानिस ठूलो दिलले हुन्छ’ निर्माण हुने भएको छ । मणि नेपाली पनेरुले निर्माण गर्ने उक्त चलचित्रमा देवेन्द्र पान्डेको निर्देशन रहने  मंगलवार राजधानीमा आयोजित शुभ मुहूर्त कार्यक्रममा निर्माता मणि नेपाली पनेरूले जानकारी दिए ।  फिल्मको मुहूर्त सट कलाकारहरु अभिनाश न्यौपाने र श्रेया कार्कीले दिएका थिए । 

सौरपानी मिडिया प्रा.लि.को ब्यानरमा निर्माण हुने उक्त चलचित्रको छायांकन बुधवारबाट छायांकन सुरु भएको छ । चलचित्रमा नायक-नायिका अभिनाश न्यौपाने तथा श्रेया कार्कीलगायत  मोहन निरौला, उत्तम केसी, सरु सुनवार, शुभम् आचार्य र सविना न्यौपानेको मुख्य भूमिका रहनेछ । गीतकार, कथाकार,  तथा साहित्यकार मणि नेपाली पनेरूले रचना गरेका ६ वटा लोकगीतलाई समेटेर चलचित्र  निर्माण हुन लागेको हो । चलचित्र पूर्ण रूपमा गीति विधामा बन्ने भए तापनि केही प्रतिशत संवादसमेत  हुनेछ । क्यानडाको लागि नेपाली साँस्कृतिक दूतसमेत रहेका पूर्ण  नेपालीको एकल संगीतमा रहेका फिल्मका गीतहरुमा राजु परियार, तुलसी पराजुली, देवि घर्ती, निशा देसार, धर्मेन्द्र सेवान,  बानीका प्रधान, रनमाया दास, रुपक डोटेल, बिमल  मगर, महेश पुन, करुणा गन्दर्धलगायतको स्वर रहेको छ भने  प्राविधिक तर्फ-  प्रोग्रमिंग, मिक्सिंग, मास्टरिंग- कृष्ण पुन (स्टुडियो म्युजिक बैंक), रेकर्डिष्ट बिमल मगर (सेवा रेकर्डिंग स्टुडियो ),  मिक्सिंग रेकर्डिंग- मुकान मुकारुङ्ग, रेकर्डिष्ट सुमन राना, मिक्सिंग कुमार राना  रहेका छन्।  



निर्माता पनेरुले चलचित्र समाजलाई एउटा सकारात्मक संदेश दिने उद्देश्यले  फिल्म निर्माण गर्न लागेको बताए । उनले ‘फरक-फरक शैलीका लोकगीतमार्फत् फिल्ममा कथा भनिनेछ । यसलाई आधुनिक मुना मदन पनि भन्न सकिन्छ । तर, यो महाकवी लक्ष्मीप्रसाद देवकोटाको मुनामदनजस्तो दुखान्त भने हुनेछैन’  भन्ने जानकारी हिमालयन ट्रिब्युनलाई बताए।  साथै उनले भिन्न जातीका दुई केटा-केटीको प्रेमकथामा चलचित्र  आधारित हुने उनले जानकारी पनि दिए ।

यस चलचित्रका निर्देशक  देवेन्द्र पाण्डेले आफूले यसअघि निर्देशन गरेका  फिल्मभन्दा ‘मानिस ठूलो दिलले हुन्छ’ भिन्न रहने दाबी गरे । गीतको माध्यमबाट समाजलाई सन्देश दिने उद्देश्यले फिल्म बनाउन लागको उनी बताउँछन् । उनले यसअघि सयौं म्यूजिक भिडियो र दुई चलचित्र निर्देशन गरिसकेका छन् ।

चलचित्र  करिब  एक घन्टाभन्दा लामो हुने बताइएको छ । सम्भवतः संवादसहित यो लम्बाईमा यसअघि गीति चलचित्र निर्माण भएका छैनन् । करीब १५ दिन छायांकन हुने फिल्मलाई उत्सव दाहालले खिच्नेछन् भने सम्पादन विकास दाहालले गर्नेछन् । फिल्म निर्माण भएपछि विभिन्न ठाउँमा च्यारिटीसहित हलमा प्रदर्शन गर्ने निर्माण टिमको लक्ष्य छ ।

सम्बन्धित समाचार
- Advertisment -spot_img

ताजा समाचार

धेरै कमेन्ट गरिएका