Wednesday, October 9, 2024
Homeमुख्य समाचारगठबन्धन र पार्टी भित्रै ७ किसिमका समस्या: माधव नेपाल

गठबन्धन र पार्टी भित्रै ७ किसिमका समस्या: माधव नेपाल

 काठमाडौँ।  नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपालले गठबन्धनमा सात प्रकारका समस्या औंल्याएका छन्।  आज मंगलबारबाट सुरु भएको स्थायी कमिटि बैठकमा १३ पेज लामो चुनावी समिक्षात्मक प्रतिवेदन पेश गर्दै नेपालले सो बताएका हुन्। 

 

अध्यक्ष नेपालले  प्रतिवेदनमा आफ्नो पार्टीका उम्मेदवारहरूले स्थानीय तह निर्वाचनमा  ९ लाख २३ हजार २१९ मत प्राप्त गरेको उल्लेख गर्दै  कुल मतको आधा गठबन्धनबाट र आधा नेकपा समाजवादी प्राप्त गरेको  मान्ने हो भने करिव पाँच लाख मत समाजवादीले प्राप्त गरेको  प्रतिवेदनमा उल्लेख गरेका छन् ।  

 

नेकपा समाजवादीले करिव २५ प्रतिशत स्थानमा मात्रै उम्मेदवारी दिँदा पनि यति धेरै मत प्राप्त गर्न सफल भएकोले विनागठबन्धन सबै स्थानमा उम्मेदवारी दिएको भए यो भन्दा दोब्बर मत आउन सक्ने आंकलन गरेका छन्।  

उनले  निर्वाचनका सन्दर्भमा देखिएका समस्याका बारेमा पनि आफ्नो प्रतिवेदनमा खुलाएका छन् । निर्वाचनका सन्दर्भमा तीनथरी समस्या देखापरेको भन्दै उनले पहिलो गठबन्धनभित्रका समस्या, दोस्रो आफ्नै पार्टीभित्रका समस्या र तेस्रो प्राविधिक एवं प्रशासनिक समस्या औल्याएका छन् ।  त्यस्तै उनले गठबन्धनभित्र सात समस्या रहेको प्रतिवेदनमा औल्याएका छन् ।

 

गठबन्धनका समस्या 

 

१. गठबन्धन नै गर्न नचाहने, २. गठबन्धनमा भएका  निर्णय कार्यान्वयन नगर्ने, ३. गठबन्धनभित्रको गुटबन्दी, ४. गठबन्धन भएका स्थानमा बेइमानी, ५. गठबन्धन बाहिरका दलसँग चुनावी तालमेल, ६. गठबन्धनमा रहेका दलहरूमा सहकार्यको भावना ज्यादै कमजोर, ७.  गठबन्धनलाई आफ्नो हितमा मात्र प्रयोग गर्न खोज्नु।  

 

उनले यस्तो प्रवृत्ति नेपाली कांग्रेस र माओवादी केन्द्रमा बढी  देखिएको पनि दाबी  गरेका छन्  भने पार्टीभित्रका समस्या पनि उनले प्रतिवेदनमा केलाएका छन्।  

 

पार्टी भित्रका समस्या 

१. गठबन्धन भइहाल्छ भनेर आफ्नो तयारीमा राम्ररी नलाग्ने, २. आफूलाई केन्द्रविन्दुमा राखेर गठबन्धन गर्न चाहने अर्थात् जहाँ हाम्रो संगठन तुलनात्मक रूपमा बलियो छ त्यहाँ लिन जोड गर्नुपर्नेमा त्यसो नगरी व्यक्तिलाई केन्द्रविन्दुमा राखेर सिट लिन चाहने, ३. गठबन्धन हुँदा उम्मेदवारी दिन तछाड-मछाड गर्ने तर गठबन्धन नहुने भएपछि भने उम्मेदवारी दिन तयारै नहुने र दिएको उम्मेदवारी पनि फिर्ता लिने, ४. चुनावलाई जनतामाझ राजनीति पुयाउने माध्यम नठानी पद प्राप्त गर्ने माध्यम मात्र ठान्ने, ५. पार्टीको टिकटबाट दिइएको उम्मेदवारी आफूखुसी फिर्ता लिने, ६. आफूले उम्मेदवारी नपाएपछि पार्टी निर्णयको विरोध गर्ने र पार्टी नै छाडेर पनि हिंड्ने, ७. आफ्नो वास्तविक शक्ति र प्रभावको आंकलन  नगरी मनोगत विश्लेषणका आधारमा बढी आकांक्षा राख्ने।

सम्बन्धित समाचार

1 COMMENT

  1. पुर्व प्रधान मन्त्री ज्यु, धन्न सात किसिम का मात्र समस्या झेल्नु परेको रहेछ, मान्छे ले यहाँ सैयौँ थरी स्मस्या भोग्न परेर बिजोग छ।

Comments are closed.

- Advertisment -spot_img

ताजा समाचार

धेरै कमेन्ट गरिएका