Thursday, December 11, 2025
Homeअन्तराष्ट्रियक्वान्टस एयरलाइन्सको ‘प्रोजेक्ट सनराइज’: २२ घन्टा लगातार उडान गर्ने विमान सञ्चालनमा

क्वान्टस एयरलाइन्सको ‘प्रोजेक्ट सनराइज’: २२ घन्टा लगातार उडान गर्ने विमान सञ्चालनमा

अस्ट्रेलियाको क्वान्टस एयरलाइन्सले इतिहासकै सबैभन्दा लामो उडान गर्ने यात्रुवाहक विमान सञ्चालनमा ल्याउने तयारी गरेको छ। कम्पनीले शुक्रबार विमानको पहिलो तस्बिर सार्वजनिक गर्दै ‘प्रोजेक्ट सनराइज’ अन्तर्गत २२ घन्टासम्म निरन्तर उडान गर्ने योजना घोषणा गरेको हो।

एयरबस ए३५०–१००० यूआरएल मोडलको यो विमान सिड्नीबाट लण्डन र न्यूयोर्कसम्म सीधा उडान गर्नेछ। अमेरिकी टेलिभिजन सिएनएनका अनुसार यो विमानले २० हजार किलोमिटर दूरी २२ घन्टामा पार गर्नेछ।

विमानमा २० हजार लिटर क्षमताको इन्धन ट्यांक जडान गरिएको छ। यात्राकै क्रममा दुई पटक सूर्य उदाएको देखिने भएकाले यस योजनालाई ‘प्रोजेक्ट सनराइज’ नाम दिइएको हो।

क्वान्टसले सन् २०२७ को सुरुवातदेखि व्यावसायिक उडान सुरु गर्ने तयारी गरेको जनाएको छ। लण्डन वा न्यूयोर्कबाट अस्ट्रेलियाको पूर्वी तटसम्म पुग्न अहिलेभन्दा करिब चार घन्टा कम समय लाग्नेछ।

हाल बोइङ ७८७–९ ड्रिमलायनरले लगातार १७ घन्टासम्म मात्र उडान भर्दै आएको छ। क्वान्टसले सिड्नी वा मेलबर्नसम्मको लामो दूरीलाई ‘उड्डयनको अन्तिम चुनौती’ भनेको छ।

यो परियोजना क्वान्टसले सन् २०१७ मा सुरु गरेको भए पनि कोभिड–१९ महामारीका कारण ढिलो भएको थियो। सन् २०२२ मा कम्पनीले १२ वटा ए३५०–१००० यूआरएल विमान अर्डर गरेको थियो, जसको पहिलो विमान अर्को वर्ष अक्टोबरमा हात पर्नेछ।

फ्रान्सको टुलुजस्थित एयरबस मुख्यालयमा विमानको निर्माण भइरहेको छ। हाल मुख्य भागहरू जोडिसकेका छन् र अब इञ्जिन र परीक्षण उपकरणहरू जडान गर्ने तयारी भइरहेको छ।

क्वान्टसकी प्रमुख कार्यकारी भानेसा हडसनका अनुसार, यो विमानले लामो दूरीको यात्राको अनुभवलाई पूर्ण रूपमा परिवर्तन गर्नेछ। उनले भनिन्, “विज्ञानका आधारमा तयार गरिएको डिजाइनले यात्रामा हुने थकान र जेटलाग घटाउनेछ।”

यो विमानमा केवल २३८ सिट रहनेछन्—सामान्य ए३५०–१००० भन्दा करिब आधा। यसमा पहिलो श्रेणीका सुइट, प्रिमियम इकनोमी, र बीचमा यात्रुहरूका लागि विशेष ‘वेलबिइङ जोन’ (आराम र स्ट्रेच गर्ने क्षेत्र) रहनेछ।

क्वान्टसले यस परियोजनालाई हवाई यात्राको नयाँ युगको सुरुवातका रूपमा लिएको छ, जसले यात्रालाई अझ सहज, आरामदायी र इतिहासमै लामो दूरी छोट्याउने बनाउने दाबी गरेको छ।

सम्बन्धित समाचार
- Advertisment -spot_img

ताजा समाचार

धेरै कमेन्ट गरिएका