काठमाडौं: ‘पशुपतिप्रसाद’, ‘आमा’ र ‘चिसो मान्छे’ जस्ता सामाजिक चलचित्रमार्फत दर्शकको मन जितेका निर्देशक दीपेन्द्र के. खनालको नयाँ चलचित्र ‘के घर के डेरा : घर नं २’ जेठ २ गतेदेखि देशभर प्रदर्शनमा आउँदैछ।
घर र डेरोबीचको बसाइले व्यक्तिको जीवनमा पार्ने प्रभाव र सामाजिक हैसियतको कथालाई प्रस्तुत गर्ने चलचित्रमा खगेन्द्र लामिछाने, निश्चल बस्नेत, उपासना सिंह ठकुरी, आर्यन सिग्देल, केकी अधिकारी र प्रकाश घिमिरे मुख्य भूमिकामा छन्।
चलचित्रको पोस्टर र टिजरमा खगेन्द्र लामिछानेलाई संघर्षशील डेरावाल पात्रको रुपमा प्रस्तुत गरिएको छ। यद्यपि, घरभेटी पात्र को हुन् भन्ने विषयमा निर्देशकले कुनै खुलासा गरेका छैनन्।
निर्देशक खनालका अनुसार चलचित्र ‘के घर के डेरा : घर नं २’ पहिलेको चलचित्रको सिक्वेल नभएर स्वतन्त्र कथा हो। चलचित्रको कथा चर्चित साहित्यकार बुद्धिसागरले लेखेका हुन्, जसले पहिलो पटक सिनेमा लेखनमा पाइला चालेका छन्।
एप्पल इन्टरटेन्मेन्ट, ए प्लस इन्टरटेन्मेन्ट र नटराज क्रिएसनको ब्यानरमा निर्माण भएको चलचित्रमा कृष्णबहादुर थापाले छायांकन गरेका छन् भने नकिमउद्दिन, शरद श्रेष्ठ र किरण महर्जन निर्माता रहेका छन्। कार्यकारी निर्माताको रुपमा युवराज कार्की रहेका छन्।