काठमाडौँ — उज्यालो नेपाल पार्टीले आज काठमाडौँमा औपचारिक घोषणा गर्ने भएको छ। प्रज्ञा भवनमा दिउँसो १ बजेदेखि ४ बजेसम्म आयोजना हुने घोषणा समारोहमा ऊर्जा मन्त्रालयका मन्त्री कुलमान घिसिङ प्रमुख अतिथि रहनेछन्।
घोषणा सभामा पार्टीको दीर्घकालीन दृष्टि, मूल ध्येय, ‘घोषणापत्र–२०८२’ सहित सैद्धान्तिक आधार, प्राथमिकता र कार्य–योजना औपचारिक रूपमा सार्वजनिक गरिने जनाएको छ। पार्टीका अनुसार घोषणापत्रले राजनीतिक मार्गदर्शन, नीति निर्देशिका र आगामी रणनीतिक कार्यक्रमलाई स्पष्ट पार्नेछ।
मंसिर १२ मा जारी पूर्वघोषणामा पार्टीले आफूलाई दलहरूको भीडमा थपिएको नयाँ संगठन मात्र नभई ‘उज्यालो सपना साकार पार्ने योग्य नेतृत्व’ भएको दाबी गरेको थियो। आम नागरिकले विश्वास गर्ने नेतृत्व निर्माण गर्दै परिणाममुखी राजनीति गर्ने प्रतिबद्धता पार्टीले दोहोर्याएको छ।
पार्टीले जेन्जी (GenZ) आन्दोलनबाट प्राप्त उपलब्धि संस्थागत गर्दै समृद्ध राष्ट्र निर्माणका लागि एकजुट हुन परिणाममुखी संवाद आवश्यक रहेको भन्दै सबैलाई सहभागी हुन आह्वान गरेको छ।


