धनगढी: सुदूरपश्चिम प्रदेशको मुख्यमन्त्रीका लागि नेपाली कांग्रेसभित्र हानथाप बढेको छ । नेकपा एमाले र कांग्रेसबीच सुदूरपश्चिमको मुख्यमन्त्री कांग्रेसले पाउने सहमति भएको थियो ।
पूर्वमुख्यमन्त्री समेत रहेका कांग्रेस संसदीय दलका नेता कमलबहादुर शाह, पूर्वभौतिक पूर्वाधार विकास मन्त्री प्रकाशबहादुर देउवा र प्रदेश सभा सदस्य बहादुर सिंह थापा गरी ३ जना मुख्यमन्त्रीका दाबेदार छन् । उनीहरूले नेताहरूसँगको भेटघाट र छलफललाई तीव्रता दिएका छन् ।
चार जनामध्ये प्रकाश देउवाको सम्भावना बलियो रहेको बताइएको छ । कांग्रेस सभापति शेरबहादुर देउवाको निवास बुढानीलकण्ठमा छलफल पछि प्रदेश सभा सदस्य प्रकाश बमले मुख्यमन्त्रीमा प्रकाशबहादुर देउवाको सम्भावना बलियो रहेको बताए। तर पार्टी सभापति देउवाको आधिकारिक निर्णय भने आउन बाँकी रहेको उनको भनाइ छ । प्रकाश देउवा सभापति देउवाका भतिजासमेत हुन् ।
तर निवर्तमान मुख्यमन्त्री समेत रहेका शाहले हालसम्म कुनै निर्णय नभएको र माहोल आफ्नो पक्षमा रहेको दाबी गरेका छन् । दलको नेता समेत आफू नै रहेकाले आफ्नो पक्षमा निर्णय हुनेमा आशावादी रहेको उनले सुनाए ।
शाह बाहेकलाई मुख्यमन्त्रीको जिम्मेवारी दिइएको अवस्थामा संसदीय दलको जिम्मेवारी पनि फेरबदल हुने बताइएको छ ।
शुक्रबार नै कांग्रेस सुदूरपश्चिम संसदीय दलको बैठक समेत आह्वान गरिएको छ । सोही बैठकबाट सबै जिम्मेवारी तय हुने बताइएको छ ।
सुदूरपश्चिम संसदीय दलभित्र प्रकाश देउवा प्रभावशाली मानिन्छन् । शक्ति केन्द्र निकट मानिने उनको पक्षमा बहुमत सदस्य रहेको बताइएको छ । उनी कैलाली निर्वाचन क्षेत्र नं. ५ (२) बाट निर्वाचित भएका हुन् ।
सुदूरपश्चिममा नेपाली कांग्रेसका १८ जना प्रदेश सभा सदस्य छन् । यहाँ कांग्रेस, एमाले र नागरिक उन्मुक्ति पार्टी (रेशम पक्ष)को संयुक्त सरकार बन्ने देखिएको छ ।
यसैबिच शुक्रबार नै मुख्यमन्त्री दीर्घबहादुर सोडारीले विश्वासको मत लिने प्रयोजनका लागि प्रदेश सभा सचिवालयमा पत्र पठाइएको छ । मुख्यमन्त्री सोडारीले पठाएको पत्रका आधारमा प्रदेश सभा बैठक आह्वान गरिएको छ ।
असार १७ गते एमाले र काग्रेसबिच भएको राजनीतिक सहमतिपछि सोडारी नेतृत्वको सरकारमा रहेको एमाले बाहिरिएको थियो । त्यस यता सोडारी नेतृत्वको सरकार अल्पमतमा परेको छ । मुख्यमन्त्री सोडारीले विश्वासको मत नपाउने निश्चित भएको हुँदा कांग्रेसभित्र प्रदेश सरकारको नेतृत्वका लागि दौडधुप बढेको हो ।