कर्णाली: राष्ट्रिय खोप कार्यक्रमअन्तर्गत कर्णाली प्रदेशमा मंगलबारदेखि पाठेघरको मुखको क्यान्सरविरुद्धको ‘एचपिभी’ खोप अभियान सुरु भएको छ। सामाजिक विकासमन्त्री घनश्याम भण्डारीले सुर्खेतको लेकबेँसी नगरपालिका–४ स्थित श्री जीवनज्योति माध्यमिक विद्यालयमा उक्त अभियानको शुभारम्भ गर्नुभयो।
मन्त्री भण्डारीले यस खोप अभियानले पाठेघर मुखको क्यान्सरको जोखिम कम गर्न महत्वपूर्ण टेवा पुर्याउने विश्वास व्यक्त गर्नुभयो। उहाँले प्रदेश सरकारले नागरिकलाई स्वास्थ्य समस्याबाट पीडित हुन नदिन गम्भीर ध्यान दिएको बताउँदै अपाङ्गता भएका व्यक्तिहरूका लागि बीमा उपचारसँगै थप ५० प्रतिशत सहुलियतको योजना रहेको जानकारी दिनुभयो।
दीर्घरोग उपचारका लागि पनि सरकार योजना निर्माण गरिरहेको उहाँले उल्लेख गर्नुभयो। अभियानअन्तर्गत कर्णाली प्रदेशभर करिब १ लाख २० हजार किशोरीलाई एचपिभी खोप लगाउने लक्ष्य राखिएको छ।