काठमाडौँ: उद्योग, वाणिज्य तथा आपूर्तिमन्त्री दामोदर भण्डारीले आर्थिक समृद्धिका लागि औद्योगिक क्षेत्रमा आधुनिक प्रविधिको उच्चतम प्रयोग अनिवार्य रहेको बताउनुभएको छ।
मन्त्रालयद्वारा आयोजित ‘उद्योग ४.०’ विषयक सरोकारवालाहरूको अन्तरक्रिया कार्यक्रममा मन्त्री भण्डारीले उद्योग ४.० लागू गरेर कम लागतमा उत्पादन र उत्पादकत्व बढाउँदै नेपाली वस्तुहरूलाई विश्वबजारमा प्रतिस्पर्धी बनाउनु आवश्यक रहेको औँल्याउनुभयो।
उहाँले भन्नुभयो, “आधुनिक प्रविधिको उच्चतम प्रयोगले वातावरण संरक्षणसँगै श्रम र लागतलाई न्यूनीकरण गर्ने भएकाले निजी क्षेत्रले यसतर्फ ध्यान दिन आवश्यक छ। नेपाल कम विकसित मुलुकबाट विकसित मुलुकतर्फ उन्मुख भइरहेको वर्तमान अवस्थामा औद्योगिक क्षेत्रको तीव्र विकासका लागि आधुनिक प्रविधिको उपयोग अपरिहार्य छ।”
मन्त्री भण्डारीका अनुसार, आधुनिक प्रविधिको प्रयोगबाट उत्पादन र उत्पादकत्व वृद्धि गरी ‘समृद्ध नेपाल, सुखी नेपाली’ को राष्ट्रिय आकाङ्क्षा पूरा गर्न सहज हुनेछ।
‘उद्योग ४.०’ अन्तर्गत औद्योगिक क्षेत्रमा सूचना प्रविधिको उच्चतम प्रयोग, आर्टिफिसियल इन्टेलिजेन्स (एआई), ड्रोन, रोबोटिक्सजस्ता प्रविधिहरूको उपयोग गरिन्छ।