काठमाडौं: हालै एसइई दिएका छात्रछात्राहरूका लागि बज्रयोगिनी डान्स एन्ड म्युजिक एकेडेमी, कपनको आयोजनामा छैटौँ संस्करणको ‘एसइई डान्स च्याम्पियनसिप–२०२५’ को घोषणा गरिएको छ।
शिक्षा र नृत्यलाई जोड्ने उद्देश्यले आयोजना हुँदै आएको यो प्रतियोगिता विगत पाँच वर्षदेखि निरन्तर सञ्चालन हुँदै आएको एकेडेमीका अध्यक्ष महेश गोदारले काठमाडौंमा आयोजित पत्रकार सम्मेलनमा जानकारी दिनुभयो।
गोडारले प्रतियोगिताको फारम खुला भइसकेको बताउँदै डिजिटल अडिसनका लागि विद्यार्थीहरूले आफ्नो नृत्य भिडियो पठाउन आग्रह गर्नुभयो।
यस प्रतियोगिताबाट हालसम्म १०० भन्दा बढी विद्यार्थीहरूले कक्षा ११ र १२ का लागि नेपालका प्रतिष्ठित कलेजहरूमा पूर्ण छात्रवृत्ति जित्ने अवसर पाएका छन्।
यस संस्करणमा पनि उत्कृष्ट २० विद्यार्थीहरूले प्रति व्यक्ति करिब दुई लाख रुपैयाँ बराबरको छात्रवृत्ति प्राप्त गर्नेछन्।
त्यस्तै, विजेताले नगद एक लाख रुपैयाँ, दोस्रो स्थान प्राप्त गर्नेले ५० हजार रुपैयाँ, तेस्रो हुनेले ३० हजार रुपैयाँसहित ट्रफी र अन्य पुरस्कारहरू प्राप्त गर्नेछन्।
ग्रान्ड फिनाले आगामी असार ७ गते राष्ट्रिय नाचघर, जमलस्थित मेघा हलमा आयोजना हुने छ।
गण्डकी प्रदेशमा प्रत्यक्ष अडिसन सञ्चालन गरिनेछ भने अन्य प्रदेशका लागि भिडियोमार्फत डिजिटल प्रि-अडिसन र सेमीफाइनल हुनेछ।
प्रतियोगिता मनासलु वर्ल्ड कलेजको मुख्य प्रायोजन र नेपाल संगीत तथा नाट्य प्रज्ञा प्रतिष्ठानको सहकार्यमा सञ्चालन हुनेछ।
निर्णायकहरूमा प्रेम श्रेष्ठ, नारायण रिजाल, रोहिया महर्जन, शान्ति कठायत र पटेल रहनेछन्।
ग्रान्ड फिनालेमा विभिन्न कोरियोग्राफरहरूलाई सम्मानित पनि गरिने आयोजकले जनाएको छ।