भक्तपुर: भक्तपुरको चाँगुनारायण नगरपालिकामा निर्माण गर्न प्रस्तावित स्मार्टसिटी क्षेत्र र सहिद धर्मभक्त अङ्ग प्रत्यारोपण केन्द्रको अस्पताल भवन निर्माण स्थलको उपप्रधान तथा सहरी विकासमन्त्री प्रकाशमान सिंह र उपप्रधान तथा अर्थमन्त्री विष्णु पौडेलसहितको टोलीले अनुगमन गरेको छ।
अनुगमन टोलीमा पूर्वमन्त्री महेश बस्नेत, बागमती प्रदेशसभा सदस्य सुरेश श्रेष्ठ, पूर्वसचिव मणिराम गेलाल, काठमाडौँ उपत्यका विकास प्राधिकरणका आयुक्त जानुका पौडेल र नायब विकास आयुक्त नवराज प्याकुरेल सहभागी थिए। टोलीलाई चाँगुनारायण नगरपालिकाका प्रमुख जीवन खत्री, उपप्रमुख रमेश बुढाथोकी र वडा नं. ३ का वडाध्यक्ष श्यामसुन्दर धिमालले स्मार्टसिटी र अस्पताल निर्माण क्षेत्रबारे जानकारी गराए।
नगर प्रमुख खत्रीले सहिद धर्मभक्त अङ्ग प्रत्यारोपण केन्द्रका लागि चानपा–३ झौखेलमा पाँच वर्षअघि नेपाल सरकारले प्रदान गरेको ३५ रोपनी जग्गामा अस्पताल भवन निर्माणको सहजीकरण गर्न आग्रह गरे। उनले भने, “अस्पतालले अहिलेसम्म भवन निर्माण गरेको छैन। गत वर्षको विस्तृत परियोजना प्रतिवेदन (डीपीआर)का लागि छुट्याइएको बजेटसमेत फ्रिज भयो। यस वर्ष सरकारले पहल गर्नुपर्छ।”
नगरपालिकाले अस्पताललाई १०० देखि १५० रोपनी जग्गा आवश्यक पर्ने बताउँदै पहिलो चरणमा प्रदान गरिएको जग्गामा निर्माण गर्नुपर्ने र आवश्यकता परे थप जग्गा उपलब्ध गराउने प्रतिवद्धता जनाएको छ।
वडाध्यक्ष श्यामसुन्दर धिमालले तीन किलोमिटर दूरीमा फराकिलो १२ मिटरको बाटो बनेको जानकारी दिँदै, “२०७७ सालमा विभिन्न मन्त्रालय र प्राविधिक टोलीले यो क्षेत्रलाई अस्पताल निर्माणका लागि उपयुक्त ठहर गरेका थिए। बजेट विनियोजन भए पनि निर्माण सुरू भएको छैन,” भने।
उपप्रधानमन्त्रीद्वय सिंह र पौडेलले अस्पताल प्रशासनसँग समन्वय गरी निर्माण प्रक्रिया अघि बढाउने प्रतिवद्धता व्यक्त गरे। उनीहरूले चाँगुनारायणमा प्रस्तावित स्मार्टसिटी क्षेत्रको पनि अवलोकन गरे। नगर प्रमुख खत्रीले स्मार्टसिटीको काम अघि बढाउने वा खारेज गर्ने निर्णय लिन सरकारलाई आग्रह गर्दै जनताको जग्गा वर्षौँदेखि रोक्का रहेको बताए।