काठमाडौँ: आगामी तीन दिन काठमाडौँ उपत्यकामा वर्षा नहुने जल तथा मौसम पूर्वानुमान महाशाखाले जनाएको छ। हाल देशमा पश्चिमी न्यून चापीय प्रणालीको प्रभाव रहेकाले बागमती, गण्डकी, लुम्बिनी र कर्णाली प्रदेशमा आंशिकदेखि साधारणतया बदली भए पनि अन्य भू-भागमा मौसम सफा रहेको महाशाखाले जानकारी दिएको छ। केही तराई क्षेत्रहरुमा हुस्सु लागेको छ।
आज दिउँसो देशका पहाडी भू-भागमा आंशिकदेखि साधारणतया बदली रही अन्य स्थानमा मौसम सफा रहने महाशाखाले जनाएको छ। कर्णाली र सुदूरपश्चिम प्रदेशका उच्च पहाडी तथा हिमाली क्षेत्रमा हल्का हिमपात हुन सक्ने सम्भावना छ। त्यस्तै, बागमती र गण्डकी प्रदेशका उच्च पहाडी तथा हिमाली क्षेत्रमा पनि एक-दुई स्थानमा हल्का हिमपातको सम्भावना रहेको छ।
आज राति पनि पहाडी क्षेत्रमा आंशिक बदली रहनेछ भने अन्य भागमा मौसम सफा रहनेछ। कोशी, गण्डकी, कर्णाली र सुदूरपश्चिम प्रदेशका उच्च पहाडी तथा हिमाली भागमा हल्का हिमपातको सम्भावना कायम रहेको छ।
आगामी २४ घण्टामा कर्णाली र सुदूरपश्चिमका उच्च पहाडी तथा हिमाली भागका केही स्थानमा तथा कोशी, बागमती र गण्डकीका उच्च पहाडी तथा हिमाली क्षेत्रमा हल्का हिमपात हुन सक्ने भएकाले जनजीवन, स्वास्थ्य, सडक र हवाई उड्डयनमा असर पर्नसक्ने भन्दै महाशाखाले सतर्क रहन अनुरोध गरेको छ।
मौसमविद् विनु महर्जनका अनुसार आगामी तीन दिनसम्म काठमाडौँ उपत्यकामा पानी पर्ने सम्भावना छैन। तर आकाशमा आंशिक बादल देखिनेछ। आज बिहान काठमाडौँको न्यूनतम तापक्रम ८.६ डिग्री सेल्सियस रहेको थियो भने दिउँसो तापक्रम २१ देखि २३ डिग्री सेल्सियसका बीच रहने अनुमान गरिएको छ।