Friday, February 7, 2025
Homeखेलकुदआइसिसी यु-१९ महिला टी-२० विश्वकप क्रिकेट : नेपाल स्कटल्याण्डसँग एक विकेटले पराजित

आइसिसी यु-१९ महिला टी-२० विश्वकप क्रिकेट : नेपाल स्कटल्याण्डसँग एक विकेटले पराजित

काठमाडौं: मलेसियामा जारी आइसिसी यु-१९ महिला टी-२० विश्वकप क्रिकेट प्रतियोगितामा नेपालले आज स्कटल्याण्डसँग रोमाञ्चक खेलमा एक विकेटले पराजय भोगेको छ।

मलेसियाको युकेएम ओभल क्रिकेट मैदानमा नेपालले प्रस्तुत गरेको ७४ रनको लक्ष्य स्कटल्याण्डले १८.४ ओभरमा ९ विकेट गुमाएर पूरा गर्‍यो।

स्कटल्याण्डका लागि पिपा स्प्रोलले ४७ बलमा ३ चौकाको मद्दतले सर्वाधिक ३५ रन बनाइन्। ग्याब्रियला फोन्टेन्लाले १२ रनको योगदान दिइन्।

नेपालका बलरहरूमध्ये सिमना केसी र रचना चौधरीले दुई-दुई विकेट लिए भने कप्तान पूजा महतो र कृष्मा गुरुङले समान एक/एक विकेट लिए।

टस जितेर पहिले ब्याटिङ गरेको नेपाल १८.५ ओभरमा सबै विकेट गुमाउँदै मात्र ७३ रनमै सीमित भयो। कप्तान पूजा महतोले ४३ बलमा ३ चौकासहित २७ रनको योगदान गरिन् भने सावित्री धामीले १० रन जोडे। अन्य कुनै पनि ब्याटरले दोहोरो अंकमा रन बनाउन सकेनन्।

स्कटल्याण्डका बलर मैसी म्याकिराले घातक प्रदर्शन गर्दै एक्लै ५ विकेट लिइन्। अमी बलडाइ र नइमा शेखले समान २/२ विकेट हात पारे भने क्रिस्टी म्यायाकोलले १ विकेट लिइन्।

यो हारसँगै नेपालको प्रतियोगितामा लगातार दोस्रो पराजय भएको छ। यसअघि पहिलो खेलमा नेपाल बंगलादेशसँग पराजित भएको थियो।

जितसँगै स्कटल्याण्डले सुपर सिक्समा प्रवेश गर्ने सम्भावना बलियो बनाएको छ। स्कटल्याण्डले पहिलो खेलमा अष्ट्रेलियासँग पराजय बेहोरेको थियो।

सम्बन्धित समाचार

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

- Advertisment -spot_img

ताजा समाचार

धेरै कमेन्ट गरिएका