Friday, January 17, 2025
Homeस्वास्थ्य र जीवनशैली‘आँखा उपचार गर्न विदेश जानुपर्दैन, विदेशी नै नेपाल आउन थालेका छन् ’

‘आँखा उपचार गर्न विदेश जानुपर्दैन, विदेशी नै नेपाल आउन थालेका छन् ’

काठमाडौँ: विदेशमा रहेका नेपालीले अब नेपाली नेत्रविशेषज्ञबाट आँखा उपचार सेवा लिन पाउने भएका छन्। नेपाल नेत्रज्योति सङ्घले विदेशमा बस्ने नेपालीलाई लक्षित गर्दै आँखा उपचार सेवा विस्तार गरेपछि विशेषगरी वैदेशिक रोजगारीमा रहेका नेपाली लाभान्वित भएका हुन्।

सङ्घले पहिलो पटक ओमानमा यो सेवा सुरु गरिसकेको महासचिव भरतबहादुर चन्दले जानकारी दिनुभयो। उहाँका अनुसार, अब छिट्टै थाइल्याण्ड र मलेसियामा पनि आँखा उपचार सेवा थालनी हुनेछ। महासचिव चन्दले भन्नुभयो, “नेपाली राजदूतावास र गैरआवासीय नेपाली सङ्घको सहकार्यमा विदेशमा आँखा उपचार सेवा विस्तार गरेका छौँ। सेवा गुणस्तरीय र सस्तो भएकाले यसको माग विदेशमा रहेका नेपालीबाट धेरै भैरहेको छ। पहिलो चरणमा ओमानमा सुरु गरेका छौँ, अब निकट भविष्यमा थाइल्याण्ड र मलेसियामा पनि सेवा सुरु गर्नेछौँ।”

नेत्रविशेषज्ञ प्राडा देवनारायण साहका अनुसार नेपालको आँखा उपचार सेवा विश्वकै सस्तो र गुणस्तरीय मानिन्छ। यही कारणले नेपालमा आँखा उपचारका लागि आउने विदेशीको सङ्ख्या बढिरहेको छ। प्राडा साहका अनुसार गत वर्ष मात्र तेस्रो मुलुकका दुई लाख ५० हजार विदेशीले नेपालको आँखा अस्पतालबाट सेवा लिएका थिए।

सङ्घले आवश्यकता अनुसार विदेशमा नेत्रविशेषज्ञ पठाएर सेवा दिन थालेको छ। गत असोजमा लुम्बिनी नेत्र विज्ञान अध्ययन संस्थान र रण अम्बिका शाह आँखा अस्पताल भैरहवामा कार्यरत चिकित्सकले बङ्गलादेशको ढाकास्थित नेशनल इन्टिच्यूट अफ अप्थाल्मोलोजीमा सेवा प्रदान गर्नुभएको थियो। त्यहाँ आन्दोलनका क्रममा आँखामा चोट लागेका बिरामीको उपचार र शल्यक्रिया गरिएको थियो।

सङ्घका कार्यकारी निर्देशक डा. शैलेशकुमार मिश्रले नेपाल आँखा उपचार सेवामा पर्यटन गन्तव्यका रूपमा विकास हुँदै गएको बताउनुभयो। उहाँले भन्नुभयो, “सन् २०२३ मा मात्र भारत र बङ्गलादेशलगायत विभिन्न देशका आठ लाख आँखाका बिरामीले सङ्घको सञ्जालमार्फत सेवा लिएका छन्। नेपाल आइ मेडिकल टुरिजमको केन्द्र बन्दै गएको छ।”

नेपाल नेत्रज्योति सङ्घ देशभर सबैभन्दा ठूलो आँखा स्वास्थ्य सेवा संयन्त्र हो। हाल सङ्घ अन्तर्गत २८ आँखा अस्पताल, १६० उपचार केन्द्र, र ४५ जिल्ला शाखा सञ्चालनमा छन्। विसं २०३५ मा स्थापना भएको सङ्घले हालसम्म चार करोड ३६ लाख २६ हजार आँखा बिरामीलाई सेवा प्रदान गरिसकेको छ। यसैगरी, ५१ लाख ३३ हजार ६५९ जनाको शल्यक्रिया गरेर आँखा ज्योति फर्काउन सफल भएको छ।

सङ्घका उपाध्यक्ष श्यामकुमार पोखरेलले भन्नुभयो, “आँखा उपचारका लागि विदेश जानुपर्ने समय सकिएको छ। अब विदेशी बिरामी नेपालमा आँखा उपचारका लागि आउन थालेका छन्। नेपाल आँखा स्वास्थ्य सेवामा सक्षम भइसकेको छ।”

सम्बन्धित समाचार

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

- Advertisment -spot_img

ताजा समाचार

धेरै कमेन्ट गरिएका