Saturday, November 8, 2025
Homeअन्तराष्ट्रियअफगानिस्तान: भूकम्पमा सबै परिवार गुमाएका नादेरको शोक

अफगानिस्तान: भूकम्पमा सबै परिवार गुमाएका नादेरको शोक

काठमाडौं । अफगानिस्तानमा गएको भूकम्पले ठूलो मानवीय क्षति पुर्‍याएको छ। अहिलेसम्म ८०० भन्दा बढीको ज्यान गइसकेको छ भने हजारौं घाइते भएका छन्।

राहतकर्मीहरू पहिल्यै कठिनाइका कारण पुग्न नसकिएका स्थानहरूमा अहिले प्रवेश गर्न थालेका छन्। भग्नावशेषमा फसेकाहरूलाई उद्धार गरी अस्पताल पुर्‍याउने कार्य जारी छ।

बीबीसीका संवाददाता यामा बारिजका अनुसार नान्गरहारको स्थानीय अस्पतालमा मात्र सोमबार ८० भन्दा बढी घाइते भर्ना गरिएको छ। यीमध्ये धेरैजसो मजार दारा र नारगुलका बासिन्दा रहेका छन्। उद्धार टोलीको पहुँचभन्दा बाहिर रहेका ती दुर्गम क्षेत्रका घाइतेहरूलाई हेलिकप्टरमार्फत जलालाबाद पुर्‍याइएको छ।

अस्पतालमा भेटिएका मजार दराका ५० वर्षीय नादेर खानले भूकम्पमा आफ्ना दुई छोरा, दुई बुहारी र नातिनातिना गुमाएको बताए। आँसु रोक्न नसकेका उनले भने, “मैले दुई नातिनातिना मात्र बचाउन सकेँ, तर अहिले उनीहरू कहाँ छन् भन्ने थाहा छैन। घर र परिवार दुबै गुमेपछि मसँग फर्कन केही बाँकी छैन।”

नादेरलाई उद्धार गरेर अस्पताल ल्याइएको छ। उनले भने, “मेरो टाउको र मेरुदण्डमा चोट लागेकाले छोराहरूलाई चलाउन वा बचाउन सकिनँ। काश, म स्वस्थ भएको भए, म उनीहरूलाई बचाउन सक्थें।”

यसैबीच, नान्गरहार स्वास्थ्य प्राधिकरणका प्रमुखका अनुसार उद्धार टोली अब अत्यधिक प्रभावित क्षेत्रमा पुगेका छन्। तर उपकरण र स्रोतसाधन सीमित भएकाले राहत पर्याप्त नभएको उनले बताएका छन्। पहाडी भूगोलका कारण महिला स्वास्थ्यकर्मीहरूलाई प्रभावित क्षेत्रमा पुर्‍याउन अझै कठिन भएको पनि उनले बताए।

सम्बन्धित समाचार
- Advertisment -spot_img

ताजा समाचार

धेरै कमेन्ट गरिएका